तेह्रथुम । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो तेह्रथुममा दिप प्रज्वलन गरिएको छ । जिल्लास्थित बामगठबन्धनका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री भएकोमा खुसीयाली व्यक्त गर्दै दिप प्रज्वलन गरेका हुन् ।
सदरमुकाम म्याङलुङ्ग स्थित लोकतान्त्रिक चोकमा नेपालको नक्सा आकारमा दिप प्रज्वलन गरी नेता कार्यकर्ताहरुले ओलीको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन् । एमाले प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली, सल्लाहकार किशोरचन्द्र दुलाल, जिल्ला उपाध्यक्ष सन्जय तुम्बाहाम्फे, सचिव शिव ढुंगाना तथा उपसचिव भुपतिलाल श्रेष्ठ सहितका नेता कार्यकर्ताले दिप प्रज्वलन गर्नुभएको छ ।
आठराई गाउँपालिका–४, साविक इवा गाविस वडा नं. २ तिनसल्लेमा अहिले पनि ओलीको जन्मघर र जग्गा रहेको छ । ओली दोश्रो पटक प्रधानमन्त्री बन्दै गर्दा जिल्लाबासी निकै उत्साहित देखिएका छन् । यहाँ जन्मिए पनि झापालाई कार्यथलो बनाउनुभएका ओलीबाट जिल्लाबासीले धेरै आशा गर्दै आएका छन् ।
जिल्लाको विकास निर्माण, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता विषय र अझ विशेष महत्वका राष्ट्रिय गौरवका आयोजनाहरुको काम पुरा गर्न ओलीले प्रधानमन्त्री हुँदा भूमिका निर्वाह गर्नेमा आफु आशाबादी रहेको नागरिक समाजका अध्यक्ष तुलसी संग्रौलाले बताउनुभयो ।