तेह्रथुम । पुर्वका जिल्लाहरुमा हिजो अपरान्ह परेको वर्षाले किसानलाई राहत मिलेको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसान हर्षित बनेका छन् । जिल्लाका केही क्षेत्रहरुमा भने असिना पानी समेत परेकाले फलफुल बालीमा क्षति भएको छ । लामो समयसम्म वर्षा नहुँदा किसानको खेतीयोग्य जमीन बाँझै रहेको थियो ।
वर्षाले किसानलाई ढिलै भएपनि हिउँदे बाली लगाउन सहज बनाएको छातेढुंगाका किसान सोमनाथ आचार्यले बताउनुभयो । ‘पानी नपरेर बारी बाँझै थियो, अब बाँझो फोडेर मकै छर्न बाटो खुलेको छ,’ उहाँले भन्नुभयो । बुधबारको वर्षाले सबै क्षेत्रको जमीन राम्रोसँग नभिजेपनि अब निरन्तर बर्षा हुने आशा किसानले राखेका छन् । जिल्लामा गत असोज यता वर्षा भएको थिएनँ । लामो समयसम्म वर्षा नहुँदा तेह्रथमको ३० हजार हेक्टर बढी क्षेत्रफलको खेतीयोग्य जमिन बाँझै थियो ।
जिल्लाको ३७ हजार २ सय ८२ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । त्यतिका जमीनमध्ये अहिले पनि बाह्रैमास सिंचाई हुने जमीन करिब छ हजार हेक्टर मात्रै छ । बाँकी रहेको बाँझो जमीनमा खेती लगाउन हिउँदे वर्षाले सहयोग पु¥याउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो । वर्षाले जिल्लामा गहुँ, आलु, तोरी, हरियो तरकारी, फापर, जौ, जै घाँस, मकै घाँस, मकै लगायतको कृषि बाली लगाउन सहज बनाएको किसानले बताएका छन् ।