दैलेख । भगवतीमाई गाउँपालिका वडा नं. ३ मेहलतोलीकी धनसरा विकले ८० वर्षको उमेरमा मंगलबार नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।
आवश्यक कागज प्रमाण पुर्याई आएकोले उहाँलाई नेपाली नागरिकता दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताउनुभयो ।
मजदूरी गर्दै भारतको शिमलामा बस्दै आएका कान्छा छोराको साथमा हुनुभएकोले यो उमेरसम्म उहाँले नेपाली नागरिकता पाउनुभएको थिएन । मेहलतोलीमै बस्दै आएका जेठो छोरासँगै बस्ने गरी आएको मौकामा यो बेला नेपाली नागरिकता लिएको धनसराले सुनाउनुभयो ।
प्रवासमा रहनुभएको बेला चासो नरहे पनि अब नेपालमै बस्ने गरी आएपछि आवश्यक ठानेर धनसरा नागरिकता लिन आएको आफूले बुझेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताउनुभयो ।