मोरङ । झापाको खुल्ला सीमानाबाट भारततर्फ वन्यजन्तुको हड्डी तथा छाला तस्करी हुने गरेको खुलासा भएको छ । भारतको बिहार राज्यसँग जोडिएको झापाबाट वन्यजन्तुको हड्डी तथा छाला तस्करी गर्ने गिरोह सक्रिय रहे पनि झापा प्रहरी, प्रशासन भने बेखबर देखिएको छ ।
झापा र इलामको वनजंगलमा रहेका वनजन्युको शिकार गरी त्यसको हड्डी र छाला दक्षिणी झापाको सीमाना नाकाबाट भारत तस्करी भइरहेको छ । भारतीय एसएसबीले गिरोहमा आवद्ध दुईजना भारतीयलाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।
पक्राउ पर्नेमा किशनगञ्ज जिल्ला कोचाधामन, तेघरिया कन्हैयाबाड़ी निवासी २५ वर्षीय मोहम्मद मोइन र ४० वर्षीय बिष्णु रजक रहेको भारतीय एसएसबी १२ बी बटालियनका डिप्टी कमाण्डर कुमार सुन्दरमले जानकारी दिनुभयो ।
एसएसबीले उनीहरुको साथबाट आठवटा हरिणको सिंङसमेत फेला पारेको छ । जसको अन्तर्राष्ट्रिय बजार मूल्य नेपाली दुई करोड रहेको जनाइएको छ ।
झापा गाउँपालिकासँग जोडिएको भारतको दीघलबैंक नाकाबाट भित्र्याइएको हरिणको सिंङलाई किशनगञ्जतर्फ लैजाने क्रममा बिशेष सूराकीको आधारमा एसएसबीको टोलीले किशनगञ्ज–बहादुरगञ्ज सडकखण्डबाट पक्राउ गरेको हो ।
मोटरसाइकलमा सवार उनीहरुले हरिणको सिङलाई बोरामा हालेर लगिरहेका थिए । पक्राउ परेका दुवै जनाले हरिणको सिंङ नेपालबाट ल्याएको एसएसबीलाई बताएका छन् ।
झापा गाँउपालिकाको सीमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ भएपनि वन्यजन्तुको तस्करी नियन्त्रण कमै मात्रामा हुने गरेका छन् ।