धनकुटा । धनकुटाको छथर जोरपाटी गाउपालिका ६ नाम्जाङमा रहेको निगाले सिमेन्ट उद्योगमा स्थानीयबासीले तालाबन्दी गरेका छन् ।
वातावरण प्रदुषण नियन्त्रण गर्नु पर्ने माग राख्दै आन्दोलनरत स्थानीयले दुई प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा प्रर्दशन गरेका हुन् । गत साता उद्योगका सञ्चालक दिनेश पौडेलमाथि कुटपिटमा सम्लग्न भएको आरोपमा स्थानीय दुई व्यक्तिलाई प्रहरीले विहिवार राति नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा छथर जोरपाटि ६ का इन्द्र घिमिरे र भक्तबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । सिमेन्ट उद्योगबाट उत्पन्न प्रदुषण नियन्त्रण गरिनु पर्ने भन्दै गत साता उद्योग परिषरमा स्थानीयले घेराउ गर्दै प्रदर्शन गरेका थिए ।
सोहि समयमा उद्यमी पौडेलमाथि आक्रमण भएको थियो । पौडेलले दिएको उजुरीका आधारमा घटनामा सम्लग्न आरोपीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।
कुटपिटबाट पौडेलको टाउकोमा चोट लागेको जनाईएको छ । पक्राउ गरिएकालाई रिहाई गरिनु पर्ने तथा उद्योगबाट निस्किएको धुलोका कारण बढ्दो वातावरण प्रदुषण नियन्त्रण गर्ने प्रविधि नराखेसम्म आन्दोलनलाई जारी राखिने आन्दोलन समितिका संयोजक दिपक गुरुङ्गले बताए ।