तेह्रथुम  । तेह्रथुमको छातेढुंगामा सम्पन्न भगवती रनिङ पुरुष फुटबल प्रतियोगिताको उपाधि घरेलु टिम खेलकुद विकास समिति छातेढुंगाले जितेको छ । आज भएको फाइनल खेलमा याशोक पाँचथरलाई २–० ले हराउँदै छातेढुंगाले उपाधि चुमेको हो । छातेढुंगाका लागि विकास राईले खेलको ५५ औँ र ६८ औँ मिनेट गोल गरेका थिए । उपाधिसँगैँ छातेढुंगाले नगद १ लाख ५ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । हारसँगै उपविजेतामा चित्त बुझाएको पाहुना टिम याशोक पाँचथरले नगद ५१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुष फुटबल प्रतियोगितासँगै यसवर्षको दिपावली मेला र सबै खेलकुद प्रतियोगिताहरु समेत सम्पन्न भएका छन् । सबै प्रतियोगितामा विजयीहरुलाई पुरस्कार वितरण गर्दै यो वर्षको दिपावली मेला सम्पन्न भएको आयोजक मानव कल्याणकारी सेवा केन्द्रका अध्यक्ष तेजमान कन्दङवाले बताउनुभयो । मेलाको अवसरमा आयोजित पुरुष भलिबल तर्फ विजयी खेलकुद विकास समिति खाम्लालुङले नगद ३० हजार र उपविजेता बनेको ओसिस युनाइटेड ताप्लेजुङले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

महिला फुटबल तर्फ विजयी पोमु केछाङ युवा क्लब, निगुरादिन ताप्लेजुङले नगद ३० हजार र उपविजेता बनेको पोखरी मावि छातेढुंगाले नगद २० हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । विगतमा हरेक वर्ष तिहारमा लाग्दै आएको दिपावली मेला यो वर्ष चुनावका कारण प्रभावित भएर माघमात्रै लागेको हो । मानव कल्याणकारी सेवा केन्द्र र दिपावली मेला समितिको संयुक्त आयोजनामा माघ १४ गतेदेखि सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया