इलाम । इलामको सुर्योदय नगरपालिकाले गरेको १५ मिटर सडक विस्तार गर्ने निर्णय विवादमा परेको छ । १५ मिटर सडक विस्तार गरे नगरबासी ‘सुकुम्बासी’ बन्ने  भन्दै जिल्लाको सुर्योदय नगरपालिकाका स्थानीय बासिन्दा आक्रोशित भएका छन्  ।

मेची राजमार्गको दुवैतर्फ १५ मिटर सडक विस्तार कायम गराउँदा नगर क्षेत्रका अधिकांश बासिन्दा र व्यवसायी विस्थापित हुने खतरा रहेकाले बाटो विस्तार गर्नु जोखिम मानिएको छ ।

एक्कासी नगरपालिका र जनप्रतिनिधिले स्थानीयसँग परार्मश नगरी १५ मिटर सडक कायम गराउने सूचना प्रकाशन गरेकाले संघर्ष समिति नै गठन गरेर आन्दोलन सुरु गरेको संघर्ष समितिका संयोजक शिवकुमार राईले जानकारी दिनुभयो ।

अहिले रहेको मेची राजमार्ग बिचबाट दुवैतर्फ साढे सात मिटर कायम गराउँदा चार लेनको बाटो बन्न सक्ने भए पनि नगरपालिकाले १५ मिटर कायम गरेकाले असन्तुष्ट भएको सघर्ष समितिका संयोजक राईको भनाई छ ।

सडक ऐन २०३१ लाई मिचेर नगरपालिका अघि बढेको स्थानीयबासीको आरोप छ । २०७१ साल भदौमा गरिएको सर्वेक्षण अनुसार झापा–इलामको सिमाना जोरकलशदेखी माईखोलासम्म १५ मिटर कायम गर्दा आठ सय भन्दा बढी घर परिवार विस्थापित हुने खतरा रहेको थियो  ।

आफूहरु विकास विरोधी नभएको तर विकासका नाममा विनास निम्त्याउन नगरपालिका लागि परेको बताउदै संयोजक राईले भन्नु भयो, ‘हामी यो नगरपालिकाको निर्णय मान्न तयार छैनौं।’

तपाईको प्रतिक्रिया