तेह्रथुम । चुनावमा अप्रत्यासित नतिजा भोग्नुपरेको भन्दै कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सुदृढिकरणका लागि जिल्ला दौडाहा सुरु गरेका छन् । जिल्ला सभापतिहरुले पार्टी नेतृत्वको चरम लापरवाही बढ्दै जाँदा पार्टीको संगठन र कार्यकर्ता समेत विचलित भएकाले संगठन सुदृढिकरणका लागि जिल्ला–जिल्ला पुगेर साझा धारणा बनाउन लागेका हुन् ।
पार्टीमा नीति र सिद्धान्त भन्दा बढी नेता हाबी भएको भन्दै उनीहरुले अब नेतृत्व भन्दा माथि नीति र सिद्धान्त हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको संगठन सुदृढिकरण र अहिलेको पराजयलाई आगामी चुनावसम्ममा विजयमा परिणत गर्न पार्टीको नेतृत्व सच्चिएर फरक कार्यशैलीमा काम थालिनुपर्ने उनीहरुको भनाइ छ ।
पुर्वको ताप्लेजुङदेखि पश्चिमको रोल्पासम्मका सात जिल्ला सभापतिले सबै जिल्ला सभापतिहरुको साझा धारणा बनाई पार्टीलाई सुदृढिकरणका लागि अभियान थालेका हुन् । शनिबार तेह्रथुमको म्याङलुङ्ग आइपुगेको सभापतिहरुको टोलीले पार्टी सभापतिको राष्ट्रिय भेलाको तयारी भइरहेको र सो भन्दा अगावै धेरै जिल्लामा पुगेर त्यहाँको अवस्था र अनुभव साँटासाट गरेर अघि बढ्ने बताइएको छ ।
टोलीमा ताप्लेजुङ सभापति लीला बोखिम, पाँचथर सभापति नरेन्द्रकुमार केरुङ, रोल्पा सभापति अमरसिंह पुन, प्यठान सभापति अमरप्रसाद भण्डारी, गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ, तेह्रथुम सभापति गोविन्द ढुंगाना र संखुवासभा सभापति दिपनकुमार श्रेष्ठ हुनुहुन्छ । मेचीको इलाम, ताप्लेजुङ हुँदै पाँचथरबाट तेह्रथुम पुगेको टोली शनिबारै संखुवासभा पुगेको छ ।
पार्टीमा नीति भन्दा नेतृत्व हाबी भएकाले चुनावमा पराजय भोग्नुपरेको सिंचाई राज्यमन्त्री समेत रहेका रोल्पा सभापति अमरसिंह पुनले बताउनुभयो । ‘एउटा व्यक्तिले सिंगो पार्टी चलाउन सक्दैनँ,’ उहाँले भन्नुभयोे, ‘जब एउटा नेता वा व्यक्ति केन्द्रित कार्यशैली अपनाइन्छ, तब यही हालत हुन्छ ।’ उहाँले पार्टीमा नेता भन्दा नीति, सिद्धान्त र विधान उच्च हुने व्यवस्था कायम गर्न आफुहरुले जिल्ला दौडाहा सुरु गरेको बताउनुभयो ।
राज्यमन्त्री पुनले देश संघीयतामा जाँदै गर्दा पार्टी केन्द्रीय समितिले जिल्ला कार्यसमितिको अधिकार खोसेर पार्टीको जिल्ला र स्थानीय तहका संगठनलाई अपहेलना गरेको आरोप लगाउनुभयो । ‘वडा सदस्यको टिकट दिने अधिकार पनि जिल्लालाई दिइएनँ,’ उहाँले भन्नुभयो, ‘कसको जनाधार बलियो छ ? भन्ने नबुझी चाकडी र पैसाका भरमा टिकट बाँडियो ।’
उहाँले ‘त्यही टिकट जिल्ला कार्यसमिति मातहतमा वितरण गरेको भएपनि स्थानीय तहको चुनावमा कांग्रेसले अरु सफलता हासिल गर्ने थियो’ भन्नुभयो । नेता पुनले पार्टीमा युवा नेता भनिएकाहरुले थालेको अभियानमा पनि सबै जिल्ला सभापतिको साथ नहुने संकेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा थिति बिग्रिदै गर्दा उहाँहरु पनि हुनुहुन्थ्यो, त्यतिवेला केही आवाज सुनिएनँ, अहिले मौकामा फाइदा उठाउन खोजेको जस्तो लाग्छ ।’
कांग्रेस तेह्रथुमको पार्टी कार्यालयमा भएको कार्यक्रममा कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले कांग्रेस भित्रको मानवीय संवेदना टुंगिएको बताउनुभयो । ‘हिजो पाँचथरमा कांग्रेसलाई चोट लाग्दा पाँचथरमा मात्रै हैन, रोल्पामा दुख्थ्यो, तर अहिले पाँचथरमा कांग्रेसलाई दुख्दा थपडी मार्नेहरु पनि यही छन्, यस्तो कसले बनायो ? उहाँले प्रश्न गर्नुभयो । पार्टीमा १३ औँ महाधिवेशन पछि गुटबन्दी झन् मौलाएर गएको उहाँको भनाइ थियो । उहाँले तत्कालै पार्टी सभापतिहरुको राष्ट्रिय भेला बोलाएर पार्टीको पराजय, विधान संशोधन, नेतृत्व र भावी कार्यदिशाको विषयमा छलफल गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
ताप्लेजुङ सभापति लीला बोखिमले कांग्रेस कांग्रेसकै कारण हार्ने गरेको दाबी गर्नुभयो । ‘केही हदसम्म पार्टी पराजयको कारण वाम–गठबन्धन पनि होला,’ उहाँले भन्नुभयो, ‘तर त्यति मात्रै हारको कारण हैन, कांग्रेस भित्रको चरम गुटबन्दीको प्रतिफल पनि यो पराजय हो ।’ उहाँले नेतृत्वले आफ्नो व्यवहार सच्चाएर पार्टी सुदृढिकरणको बाटोमा लाग्नुपर्ने बताउनुभयो ।
गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ र प्युठान सभापति अमर भण्डारीले पनि पार्टीभित्र पराजयको कारण खोजिनुपर्ने धारणा राख्नुभयो । संखुवासभा सभापति दिपनकुमार श्रेष्ठले पार्टीले विगतमा रचेको गर्विलो इतिहासको सदुपयोग गर्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभयो । सभापतिहरुले पार्टी पराजयको कारण खोज्न राष्ट्रिय भेला गरिनुपर्ने र सोबाट निस्केको निष्कर्षलाई महासमिति सदस्यको भेलाबाट टुंगोमा पु¥याउनुपर्ने धारणा अघि सारेको छ । ‘हामीले मेची घुम्यौँ, अब कोशीका पहाडी जिल्ला हुँदै सबै प्रदेशका जिल्ला घुमेर साझा धारणा बनाउछौँ,’ गुल्मी सभापति श्रेष्ठले भन्नुभयो ।