तेह्रथुम । तेह्रथुमको छातेढुंगामा जारी दिपावली मेला अन्तर्गत भगवती रनिङ पुरुष फुटबल प्रतियोगिताको फाइनलमा याशोक पाँचथर र खेलकुद विकास समिति छातेढुंगा भीड्ने भएका छन् । स्थानीय पोखरी माविको खेलमैदानमा पहिलो सेमिफाइनलमा खेलकुद विकास समिति खाम्लालुङलाई १–० ले पराजित गर्दै याशोक पाँचथर फाइनलमा पुगेको छ ।

यस्तै अर्को खेलमा छातेढुंगा खेविसले विजय बांगे सावउस छातेढुंगालाई २–१ गोलले हराएको छ । फाइनल खेल भोलि विहान १० बजेपछि सन्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले नगद १ लाख ५ हजार १ सय ११ र उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्

यसैबीच दिपावली मेलाकै अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताको उपाधि खेलकुद विकास समिति खाम्लालुङले चुमेको छ । ताप्लेजुङको ओसिस युनाइटेड क्लब, आठराई त्रिवेणीलाई सोझो सेटमा पराजित गर्दै खाम्लालुङले उपाधि जितेको हो । जितेसँगै उसले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको ओसिस युनाइटेड ताप्लेजुङले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

यस्तै महिला फुटबल प्रतियोगिता तर्फको उपाधि पोमु केछाङ युवा क्लब, निगुरादिन ताप्लेजुङले जितेको छ । आज भएको फाइनल खेलमा पोखरी मावि छातेढुंगालाई २–० ले पराजित गर्दै निगुरादिन ताप्लेजुङले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद ३० हजार , ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने भएको छ । हारसँगै उपविजेता बनेको पोखरी मावि छातेढुंगाले नगद २० हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

अन्य इन्डोर तथा आउट डोर तर्फका खेलहरु पनि भएका छन् । सबै भोलि पुरुष फुटबल प्रतियोगिताको फाइनल खेलसँगै सबै प्रतियोगितामा विजयीहरुलाई पुरस्कार वितरण गरिनेछ । विगतमा हरेक वर्ष तिहारमा लाग्दै आएको दिपावली मेला यो वर्ष चुनावका कारण प्रभावित भएर माघमात्रै लागेको हो । मानव कल्याणकारी सेवा केन्द्र र दिपावली मेला समितिको संयुक्त आयोजनामा माघ १४ गतेदेखि सुरु भएको मेला भोलि सकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया