तेह्रथुम । म्याङलुङमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुदृढीकरण परियोजना अन्तर्गत दुई दिने क्षमता विकास तालिम शुक्रबार सम्पन्न भएको छ । आइपास नेपालको सहयोगमा समृद्ध तेह्रथुमका लागि अभियानले जिल्लामा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुदृढीकरण परियोजना सन्चालन गर्दैछ ।
सोही परियोजना अन्तर्गत उद्योग वाणिज्य संघको हलमा सन्चालित तालिममा संस्थाका पदाधिकारी, कर्मचारी र रेडियो तेह्रथुमसँग आवद्ध सन्चारकर्मीहरु सहभागी थिए । तालिममा सहभागीलाई आइपास नेपालका कार्यक्रम संयोजक लक्ष्मण केसी र जिल्ला संयोजक केदार भण्डारीले सहजीकरण गर्नुभएको छ ।
तालिममा गर्भपतन परिचय, गर्भपतन सम्बन्धी नेपालमा कानुनी व्यवस्था, असुरक्षित गर्भपतनबाट हुने जोखिम, त्यसलाई न्युनिकरण गर्ने उपायहरु, सुरक्षित गर्भपतनका फाइदा, स्वास्थ्य संस्था तथा समाजमा रहेका अफवाहका विषयमा छलफल भएको थियो । तालिममा सहभागीले समाजमा व्याप्त रहेको गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुरक्षित गर्भपतनबारे सचेतना फैलाउने प्रतिवद्धता जनाएका छन् ।
आइपास नेपालको सहयोगमा तेह्रथुम जिल्ला अस्पतालसहित जिल्लाका १४ वटा स्वास्थ्य संस्थामा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु हुँदैछ । सो सेवा सुरु गर्न चार जना डाक्टरसहित २६ जना स्वास्थ्यकर्मीलाई तालिम समेत प्रदान गरिएको छ ।
यो वर्ष जिल्लाका चार वटा गाउँहरुमा सुरक्षित गर्भपतनबारे सचेतना कार्यक्रम सन्चालन हुदैछ । पहिलो चरणमा जिल्लाका बसन्तपुर, सोल्मा, मोराहाङ र आम्बुङमा सचेतीकरण कार्यक्रम सन्चालन हुने समृद्ध तेह्रथुमका लागि अभियानका अध्यक्ष महेन्द्रप्रसाद काफ्लेले बताउनुभयो ।
नेपालमा सन् २००२ बाट सुरक्षित गर्भपतनका लागि कानुनी मान्यता प्रदान गरिएको छ । आइपासले हाल नेपाल सहित १७ वटा देशहरुमा सुरक्षित गर्भपतन सम्बन्धी सचेतीकरण कार्यक्रम सन्चालन गरिरहेको छ ।