तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुंगा स्थित पोखरी माविको खेलमैदानमा चलिरहेको दिपावली मेला तथा भगवती रनिङ पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बुधबार क्वाटर फाइनल चरणका चार खेल सम्पन्न भएका छन् ।
दिपावली मेला अन्तर्गत भइरहेको खेलकुद प्रतियोगिताको बुधबारको पहिलो खेलमा चम्किलो तारा युवा क्लब इवालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै याशोक पाँचथर सेमीफाइनलमा पुगेको छ । दोश्रो खेलमा सुपारे बागथला छातेढुंगालाई ३–० ले हराउँदै खाम्लालुङ खेविस पनि सेमिफाइनलमा पुगेको छ । आजै योङ स्टार सुनसरी अनुपस्थित भएपछि विजय बोग्रे सावउस छातेढुंगा वाक ओभरमार्फत अगाडि बढेको छ । अन्तिम खेलमा गणेश चोक पाँचथर र छातेढुंगा खेलकुद विकास समिति बीच भएको खेलमा ट्राइवेकरमा समेत बराबर गोल भएपछि खेल स्थगित भएको खेलकुद सन्चालक समितिले जनाएको छ ।
यस्तै पुरुष भलिबल प्रतियोगितातर्फ खेलकुद विकास समिति खाम्लालुङ र ओसिस स्पोटिङ क्लब आठराई त्रिवेणी, ताप्लेजुङ फाइनलमा पुगेका छन् । चार टिम मात्रै सहभागी प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा खाम्लालुङले इवा खेलकुद विकास समितिलाई तथा ओसिस, आठराई त्रिवेणीले शान्ति समुह इवालाई सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् । फाइनल खेल पर्सि शुक्रबार हुने आयोजकले जनाएको छ ।
यस्तै महिला फुटबल प्रतियोगिता तर्फ चम्किलो तारा युवा क्लब इवालाई ट्राइवेकरमा ३–२ ले पराजित गर्दै पोखरी मावि छातेढुंगा फाइनलमा पुगेको छ । चार टिम मात्रै सहभागी सो प्रतियोगिता अन्तर्गतको अर्को खेल विहीबार विहान ८ बजे पोमु केछाङ निगुरादिन र शितल छहारी, थोक्लुङबीच हुने जनाइएको छ ।
दिपावली मेलाको अवसरमा आयोजित खेलकुद कार्यक्रममा पुरुषतर्फ विजेताले नगद १ लाख ५ हजार १ सय ११ र उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । पुरुष भलिवलतर्फ विजेताले ३० हजार र उपविजेताले १५ हजार तथा महिला फुटबलतर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विगतमा हरेक वर्ष तिहारमा लाग्दै आएको दिपावली मेला यो वर्ष चुनावका कारण प्रभावित भएको थियो । मानव कल्याणकारी सेवा केन्द्र र दिपावली मेला समितिको संयुक्त आयोजनामा गत आइतबारबाट सुरु भएको मेला अन्तर्गत भोलि विहीबार राष्ट्रिय कलाकार अन्जु पन्त सहित स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक कार्यक्रम हुदैछ । मेला माघ २० गते सकिनेछ ।