तेह्रथुम* । राष्ट्रिय सभा निर्वाचनका लागि तेह्रथुमका जनप्रतिनिधिहरुलाई मतदाता शिक्षा प्रशिक्षण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रिय सभा निर्वाचन, निर्वाचन प्रणाली, मतदान गर्ने तरिका, मतपत्र लगायत विषयहरुमा प्रशिक्षित गरेको हो ।
कार्यक्रममा जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सांसदहरु, प्रतिनिधि सभाका सांसद र जिल्ला समन्वय समितिका प्रमुख समेत सहभागी थिए । उद्घाटन समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य भवानीप्रसाद खापुङले नेपालमा पहिलो पटक हुन लागेको एकल संक्रमणीय प्रणालीको चुनावको व्यवस्थाबारे बुझ्ने प्रयास भइरहेपनि प्रदेश नं. १ मा त्यसको अभ्यास गर्न नपाइने निश्चित भएको बताउनुभयो ।
सो प्रणाली अन्तर्गत एकै पदमा कम्तिमा तीन जना उम्मेदवार हुनैपर्ने व्यवस्था छ । प्रदेश नं. १ बाट राष्ट्रिय सभाका लागि अब दुई पदका लागि २–२ जना मात्रै उम्मेदवार रहेका छन् । सांसद खापुङले निर्वाचन आयोगले एउटा निर्वाचन भएपछि अर्को निर्वाचन आउन्जेल घाम तापेर बस्ने गरेको भन्दै अबका दिनमा त्यस्तो समयमा मतदातालाई शिक्षित गर्नेतर्फ केन्द्रित हुनुपर्ने सुझाव राख्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुले समेत मतदान गर्न पाउने नीतिगत व्यवस्था गर्न सुझाव दिनुभयो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको अध्यक्षतामा भएको थियो ।
राष्ट्रिय सभा निर्वाचनका लागि मतदाताको रुपमा रहेका जनप्रतिनिधिलाई मतदाता शिक्षाबारे प्रशिक्षिण गरिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । ‘जनप्रतिनिधिहरुलाई सन्चार माध्यमबाट धेरै कुरा थाहा भइसकेपनि कानुनी व्यवस्थाबारे आयोगले निर्धारण गरेको प्रक्रिया पुरी मतदाता शिक्षाबारे प्रशिक्षण गरिएको हो,’ उहाँले भन्नुभयो ।