तेह्रथुम । तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा स्थापना भएको पर्यटन सूचना केन्द्र र संग्रहालयलाई स्थानीय एक युवा क्लबले पुरातात्विक सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

चैनपुर नगरपालिका–१ स्थित प्रि–म्युजिक युथ क्लव, पहिरेले तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रद्धारा सन्चालित संग्रहालयका लागि ऐतिहासिक तथा पुरातात्विक सामाग्रीहरु हस्तान्तरण गरेको हो । क्लबले संग्रहालयलाई ढोल, सारङ्गी, टुङना, झ्याम्टा, ढाल र तरबार लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका सचिव सन्तोष लिम्बुले जानकारी दिनुभयो ।

टिएमजे क्षेत्रका सबै सूचना एकै ठाउँबाट प्रवाह गर्न हालै यहाँका युवाहरुले पर्यटन सुचना केन्द्र तथा ऐतिहासिक बस्तुहरु सम्मिलित संग्रहालय सन्चालनमा ल्याएका छन् । गुफाबजारमा सन्चालित संग्रहालयमा स्थानीय लोपोन्मुख उत्पादन, सामाग्रीहरु र टिएमजे क्षेत्रका आकर्षणहरु एकै ठाउँमा हेर्न मिल्ने सजाइएको छ ।

टिएमजे क्षेत्रमा पाइने सबै प्रकारका गुराँस, सुर्योदयको दृश्य, कञ्चनजंघा र मकालु हिमाल, गुफापोखरी, यहाँका महत्वपुर्ण स्थलहरु, यो क्षेत्रको लोपोन्मुख कला संस्कृति झल्कने तस्विरहरु, लोक संस्कृतिसँग जोडिएका लोपोन्मुख बाजाहरु, प्रविधिले विस्थापित गरेका ढिकी, जाँतो, लेकाली गोठमा प्रयोग हुने काठको हर्पे, डाडु, पन्यु, पेरुंगो, ठेकी, विनायो, मादल, च्याब्रुङ लगायत बस्तुहरु राखिएका छन् ।

तपाईको प्रतिक्रिया