तेह्रथुम । तेह्रथुमको म्याङलुङ्गमा मावि स्तरीय अखिल कप भलिबल प्रतियोगिता सुरु भएको छ । शहिद दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तेह्रथुमको आयोजनामा टुँडिखेलस्थित मैदानमा सुरु भएको प्रतियोगिताको प्रतिनिधि सभा सदस्य भवानीप्रसाद खापुङले उद्घाटन गर्नुभयो ।

पुर्वविद्यार्थी र वर्तमान विद्यार्थी नेताबीचको उद्घाटन खेलमा वर्तमान विद्यार्थी नेताको टिम विजयी भएको छ । प्रतियोगिता अन्तर्गत म‌गलबार दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा गौखुरी मावि मोराहाङलाई सिंहवाहिनी मावि म्याङलुङ्गले तथा दोश्रो खेलमा रत्न मावि सोल्माले सरस्वती मावि शुक्रबारेलाई सोझो सेटमा पराजित गरेका छन् ।

बुधबार सिद्धकाली मावि ओयाक्जुङ र मच्छिन्द्र मावि सुदापको बीचमा विहान ८ बजेबाट खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १३ वटा माध्यमिक विद्यालयहरु सहभागी छन् । विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक अनेरास्ववियुका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया