मोरङ । मंसिर ७ गते को १ च ७०७५ नम्बरको गाडीले धनुषा सिंहयाही मरान बस्दै आएका सोखिलाल महतोलाई ठक्कर दियो ।

महतोको खुट्टा नै भाँचियो । खुट्टा भाँचिएपछि उहाँको उपचार गाडी धनी निर्मल कपारले गर्नुपर्ने भयो । महतोलाई उपचारको लागि जनकपुरमा सम्भव नभएपछि विराटनगरको न्यूरो अस्पताल भर्ना गरियो । न्यूरोमा अर्थोसर्जन बिदामा बसेका कारण उनलाई काठमाडौंस्थित बी एण्ड बी अस्पताल रेफर गरिएको थियो ।

रेफर भएपछि न्यूरो अस्पताल परिसरमै औषधि व्यवसाय गर्दै आएका एक व्यवसायीले म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा भर्ना हुन सल्लाह दिए । उनकै सल्लाह अनुसार महतोलाई म्याक्स अस्पतालमा भर्ना गरिएको थियो ।

२ महिना अस्पतालमा राखिएका घाइते महतोको खुट्टा वैशाखीको सहारामा टेक्ने सक्ने अवस्थामा पुग्यो । एक्स रे रिपोर्ट अनुसार महतोको घुँडामुनी नली खुट्टा तीन ठाउँ भाँचिएको थियो । उनको एक्स–रे रिपोर्टमा ३ ठाउँ भाँचिएको देखिए पनि ६ ठाउँ भाचिएको अस्पताल प्रशासनले दाबी गरेको छ ।

भाँचिएको ठाउँमा ५० हजार मूल्य बराबरको स्टील हालिएको छ । उपचारमा अर्थोसर्जन डाक्टर संजयकुमार साह संलग्न चिकित्सकको टोलीले महतोको शल्यक्रिया गरेको थियो । त्यसको रकम  भने ९ लाख ३४ हजार खर्च रुपैयाँ भएको अस्पतालले जानकारी दियो । महतोको सबै उपचारको रकम गाडी धनी निर्मल कपारले तिर्नुपर्ने थियो । कपारलाई अस्पतालले दिएको बिलले भने झस्कायो ।

मुटु वा मस्तिष्कजस्ता संवेदनशील भागमा भएको शल्यक्रिया जत्तिकै घुँडामुनीको शल्यक्रियाको लागि पनि लाखाैंको रकमको बिल आएपछि आफू छक्क परेको कपार बताउनुहुन्छ । जम्मा ५० हजार रुपैयाँ बराबरको स्टील लगाउनु परेको भए पनि शल्यक्रिया गरे वापत कपारले ९ लाख ३४ हजार रुपैयाँ अस्पताललाई बुझाउनु पर्यो ।

अस्पतालकै मेडिकलमा ६ लाख र बाहिरबाट औषधि ल्याएको समेत ३ लाख गरी ९ लाख रुपैयाँ रकम तिराइएको कपारले बताउनुभयो । उपचारमा रकम तिर्ने पक्षले तीन दिनसम्म त्यत्रो रकम नतिर्ने अडान लिए पनि सवारी धनीको केही पनि लागेन । नीजी सवारी भएको कारणले पनि सवारी धनीको पक्षमा बोलिदिने कोही पनि भएनन् ।

अस्पतालका अध्यक्ष शत्रुघ्न यादवले जटिल प्रकारको सल्यक्रिया भएकोले धेरै खर्च लागेको बताउनुभयो । अझ केही दिन अघि मात्र अस्पतालले पत्रकार सम्मेलन गरेरै ६ ठाउँ भाँचिएको खुट्टाको सफल सल्यक्रिया भएको भन्दैै प्रचार गरेको थियो ।

विराटनगरमा प्रसस्तै खुलेका अस्पतालले पछिल्ला दिनमा बिरामीलाई उपचार गराए पनि त्यसको लागतको बारेमा मनपरी रकम निर्धारण गर्दा समस्या देखिएको छ । एक जनाको उपचारमा कंगाल हुनु पर्ने अवस्था आउँदा समेत यस विषयमा सरकारी पक्ष गम्भीर नबनेको उपभोक्तावादी संघ संस्थाको आरोप छ ।

तपाईको प्रतिक्रिया