इलाम । इलाम नगरपालिका वडा नम्बर–१२, साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडाबासीलाई समस्या भएको छ ।
कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयका सम्पूर्ण काम ठप्प भएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राही अप्ठ्यारोमा परेको छ । वडा कार्यालय बन्द हुँदा भत्ता, सिफारिसलगायतका कामका लागि आफूहरुलाई समस्या भएको स्थानीय बासीको भनाइृ छ ।
नगरपालिकाबाट विनियोजित २० लाख रुपैयाँबाट निर्माण गरिने ढोलेदेवी–दमाइ इन्टेक जाने बाटो निमार्ण समिति बनाउने क्रममा वडाध्यक्ष लाखमान लिम्बुले वाम गठबन्धनलाई उपेक्षा गरेको भन्दै वाम गठबन्धनका नेता कार्यकर्ताले वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।
कांग्रेस, संघिय समाजवादी र मंगोल नेशनल अर्गानाइजेसनलाई मात्र समेटेर उपभोक्ता समिति बनाइएको भन्दै वाम गठबन्धनका नेताले तालाबन्दी गरेको संयुक्त आन्दोलन समिति संयोजक भरत घिमिरेले जानकारी दिनुभयो ।
वडा अध्यक्ष लाखमान लिम्बुले वाम गठबन्धनका नेतालाई पटक पटक बैठकमा बोलाए पनि नआएकालो काम अगाडि बढाएको जानकारी दिनुभयो ।
वाम गठबन्धनका नेता कार्यकर्ताले समितिको पदमा असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेपछि समिति बनाएर काम अगाडि बढाएको वडा अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।
नगरपालिकाबाट विनियोजित बजेटमा वडाध्यक्षले एकलौटी ढंगले समिति बनाएर काम थालेको भन्दै गएको माघ ९ गते वाम गठबन्धनले वडाकार्यालयमा तालाबन्दी गरेका थिए ।