तेह्रथुम । जिल्ला समन्वय समिति तेह्रथुम र म्याङलुङ्ग नगरपालिकाले तेह्रथुम, ताप्लेजुङ र संखुवासभाका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ । तेह्रथुमको पहिचान बनेको तेह्रथुमे ढाकाका टोपी तथा पछ्यौरा ओढाएर स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।
टिएमजे क्षेत्रको बन संरक्षण व्यवस्थापन परामर्श गोष्ठीको शिलशिलामा तेह्रथुम आएका एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य योगश भट्टराई, संखुवासभाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र गौतम, तेह्रथुमका प्रतिनिधि सभा सदस्य भवानीप्रसाद खापुङ, प्रदेश सभा सदस्यहरु र विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुलाई सम्मान गरिएको हो ।
नेता योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी सांसद र स्थानीय तहका जनप्रतिनिधिले तीन जिल्लाको विकास र समृद्धिका लागि पुर्वाधार तथा पर्यटन विकासका लागि साझा प्रतिवद्धताहरु जनाउँदै तेह्रथुम घोषणा पत्र समेत जारी गरेको छन् । जनप्रतिनिधिहरुले तीनजुरे मिल्के जलजले क्षेत्रलाई प्रदेश नं. १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन यहाँका पर्यटन, ऊर्जा तथा जलश्रोत र सडक लगायत पुर्वाधार विकासका क्षेत्रमा सामुहिक प्रतिवद्धता जनाएका छन् ।
सो घोषणा पत्रमा तीन वटै जिल्लालाई समेट्ने गरी टिएमजे क्षेत्रको गुराँसे बन व्यवस्थापन, पर्यापर्यटन र विकासका लागि एकिकृत संरचना बनाउने, कन्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण संरक्षण क्षेत्रलाई जोड्ने जैविक विविधताले युक्त टिएमजे क्षेत्रको संरक्षण कार्यलाई अघि बढाउने आदि रहेका छन् । सो कार्यक्रम जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।