तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६, मोराहाङको सिकिदिममा चिया किसानहरुका लागि सीप विकास तथा जनचेतना सम्बन्धी दुई दिने तालिम आज सम्पन्न भएको छ । चिया तथा कफी विकास बोर्ड अन्तर्गतको चिया विस्तार योजना सोल्माले आयोजना गरेको सो तालिममा मेन्छ्यायेम गाउँपालिकाका ३० जना बढी चिया किसानहरु सहभागी थिए ।
सिकिदिम चिया उत्पादक सहकारी संस्थाको हलमा भएको तालिममा सहभागी किसानलाई योजना प्रमुख विजयकुमार मिश्रले चिया खेती गर्ने तरिका, चिया रोपण, काँटछाँट, टिपाई र प्रशोधन कसरी गर्ने भन्ने विषयमा सिकाउनुभएको थियो । तालिमको समापन कार्यक्रम मेन्छ्यायेम गाउँपालिका–६ का वडाध्यक्ष प्रदीपकुमार वुढाथोकीको प्रमुख आतिथ्यता तथा सिकिदिम चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष गोविन्द लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मोराहाङमा गतवर्ष नै चिया प्रशोधन मेसिन, रोलर तथा डायर मेसिन लगायतका सामाग्रीहरु जडान भइसकेको छ । किसान लाई चिया प्रशोधन सम्बन्धी सीप समेत दिइसकिएकाले अब यो वर्षबाट मोराहाङमा समेत किसानले आफैँ चिया प्रशोधन गरी विक्री गर्न सक्ने भएका छन् । विगत वर्षहरुमा मोराहाङका किसानले उत्पादन गरेको हरियो पत्ती जिल्लाबाहिर निकासी नभई नष्ट भएर जाने गरेको थियो ।
यहाँका किसानलाई चिया खेती विस्तार तथा विकासका लागि उन्नति समावेशी वृद्धि कार्यक्रमले सहयोग गरेको छ । सो संस्थाकै सहयोगमा सहकारीको आफ्नै भवन निर्माण गरी मेसिन प्रशोधन मेसिन जडान समेत भइसकेको सहकारीका अध्यक्ष गोविन्द लिम्बुले बताउनुभयो ।