तेह्रथुम । तेह्रथुम, ताप्लेजुङ र संखुवासभाका जनप्रतिनिधिहरुले यी जिल्लाको संगमस्थलको रुपमा रहेको तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रको जैविक विविधतालाई संरक्षण गर्दै यो क्षेत्रको समृद्धि खोज्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।
यो क्षेत्रको बन संरक्षण तथा व्यवस्थापनका लागि तेह्रथुमको म्याङलुङ्गमा सोमबार आयोजित परामर्श बैठकमा सहभागी स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा निर्वाचित जनप्रतिनिधिहरुले समुदायमा आधारित टिएमजे संरक्षित क्षेत्र बनाउन माग गरेका छन् । उनीहरुले गुराँसको संरक्षण र यहाँका बासिन्दाको आर्थिक समृद्धिलाई जोडेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
तेह्रथुमको तीनजुरे, ताप्लेजुङको मिल्के र संखुवासभाको जलजले मिलेर बनेको टिएमजे क्षेत्र प्राकृतिक तथा जैविक विविधताले भरिपुर्ण छ । यो क्षेत्रको बनमा फुल्ने २८ प्रजातिका गुराँस, २ सय ५० बढी बनस्पति, २ सय ७४ बढी चराचुरुङ्गी, ऐतिहासिक तालतलैया, जलाधार क्षेत्र र विभिन्न जातजातिको लोक सस्कृतिले टिएमजे क्षेत्र पुर्वकै परिचित पर्यटकीय स्थल बनेको छ ।
एउटै बनमा २८ प्रजातिका गुराँस पाइने भएकाले यो क्षेत्रलाई गुराँसको राजधानी समेत भनिन्छ । गुराँस फुल्ने सिजनमा यहाँ पर्यटकको विशेष घँइचो लाग्छ । सरकारले यो क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय समेत गरिसकेको छ । तर लामो समयपछि भएको स्थानीय चुनाव र राज्य पुनःसंरचना भएपछि निर्वाचित जनप्रतिनिधिको परामर्श लिन क्षेत्रीय बन निर्देशनालय विराटनगरले सो कार्यक्रमको आयोजना गरेको प्रमुख किशोरचन्द्र गौतमले बताउनुभयो ।
जनप्रतिनिधिहरुको सुझावलाई समेटेर टिएमजे क्षेत्रको संरक्षणको काम अघि बढ्ने उहाँको भनाइ छ । कार्यक्रममा सहभागी जनप्रतिनिधिले टिएमजे क्षेत्रको गुराँसे बनलाई संरक्षण तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको औल्याएका छन् । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईले टिएमजे क्षेत्रको जैविक विविधतालाई अवसरको रुपमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
सो क्षेत्रलाई संरक्षण गर्नुपर्ने तर स्थानीय बासिन्दालाई निषेध गर्नु नहुने उहाँले बताउनुभयो । ‘टिएमजे क्षेत्रको जैविक विविधताको संरक्षण गरौँ, यहाँ फुल्ने २८ प्रजातिका गुराँसको प्रचार प्रसार पनि गरौँ,’ उहाँले भन्नुभयो, ‘यीनै विषयलाई आधार मानेर यहाँका बासिन्दाको आर्थिक समृद्धि पनि हुनुप¥यो, त्यो काम अब हामीले गर्नुपर्छ ।’ संरक्षण क्षेत्र बनाउने नाउँमा सरकारले उपभोक्तालाई निषेध गर्ने गरेको भन्दै टिएमजे क्षेत्रलाई त्यसरी निषेधित बन बनाउन नहुने उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यद्धय राजेन्द्र गौतम र भवानीप्रसाद खापुङ, प्रदेश सभा सदस्यहरु तुलसी न्यौपाने, लक्ष्मण तिवारी र पदमकुमारी गुरुङ, ताप्लेजुङ जिसस प्रमुख घनेन्द्र मादेन, लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङ, मादी नगरपालिकाका मेयर विदुर लिङ्थेप, आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौला लगायत जनप्रतिनिधिहरुले टिएमजे क्षेत्रलाई संरक्षण तथा व्यवस्थापन गर्नुपर्ने तर प्राकृतिक श्रोत साधनमाथिको यहाँका बासिन्दाको अधिकारलाई खोस्न नहुनेमा जोड दिएका छन् ।
संरक्षण क्षेत्र घोषणा हँुदा स्थानीय बासिन्दा र वन उपभोक्ताको अधिकार कटौती हुनु नहुने सामुदायिक बन उपभोक्ता महासंघ नेपालकी महासचिव भारती पाठकले बताउनुभयो । टिमएजे क्षेत्रलाई स्थानीयले विगत डेढ दशकदेखि हेरचाह र उपभोग समेत गर्दै आएको भन्दै उहाँले समुदायमा आधारित संरक्षण क्षेत्र घोषणा गर्न माग गर्नुभयो ।
क्षेत्रीय बन निर्देशनालयको आयोजना, विश्व बन्यजन्तु कोषको आर्थिक सहयोग तथा सामुदायिक बन महासंघ तेह्रथुमको व्यवस्थापनमा भएको कार्यक्रममा तेह्रथुमका बन अधिकृत देवीचन्द्र पोखरेलले टिएमजे क्षेत्रको हालको अवस्था, अवसर र चुनौतीहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विश्व बन्यजन्तु कोषका सन्तोषमनि नेपालले संघीयतामा सामुदायिक बन विषयक कार्यपत्र र सामुदायिक बन महासंघका केन्द्रीय अध्यक्ष गणेशबहादुर कार्कीले सामुदायिक बन अधिकारका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।