काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभामा २४ जना निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । ७ वटै प्रदेशमा गरी २४ जना निर्वाचिन भएको भन्दै आयोगले अब ३२ पदका लागि ५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको जनाएको छ ।
प्रदेश नम्बर १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निविरोध निर्वाचित भएका छन् । १ नम्बरमा अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पद गरी जम्मा २ पदका लागि चुनाव हुने छ । प्रदेश नम्बर २ मा ८ वटै पदका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रदेश नम्बर ३ मा ८ वटै पदमा मतदान हुने छ । प्रदेश नम्बर ४ मा अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी ७ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश नम्बर ५ मा महिला ३ पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।
५ नम्बरमा अब ३, दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा ५ पदमा चुनाव हुने छ । त्यस्तै, प्रदेश नम्बर ६ मा सबै पदमा चुनाव हुनेछ ।
प्रदेश ७ मा महिला ३ र खुल्ला ३ गरी ६ पदमा उम्मेदवारहरू निर्विरोध भएकाले अब दलित १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक १ गरी जम्मा २ पदमा चुनाव हुने छ । राष्ट्रियसभाको चुनाव माघ २४ गते हुँदै छ ।