प्रकाश धौलाकोटी
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकाले साताअघि मात्रै सेवा क्षेत्र भित्रका सबै सरकारी माध्यमिक विद्यालयमा कम्प्युटर कक्षाको थालनी गर्यो । गाउँपालिकाले विज्ञान र प्रविधिको युगमा भिज्न सक्ने शिक्षा दिनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यहाँका माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षकहरु नियुक्ति समेत गरेको छ । अहिले फेदापका आठ वटा माध्यमिक विद्यालयमा कम्प्युटरको सैद्धान्तिक र प्रयोगात्मक कक्षा समेत सुरु भइसकेको छ ।
उता छथर गाउँपालिकाले सबै सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरीको व्यवस्था गर्दै सेवामा सुशासन कायम गर्ने भनेको छ । गाउँपालिका कार्यालयमा सीसी टिभी समेत जडान गरी सबै वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीहरुमा विद्युतीय हाजिरीको प्रयोग थालेको हो । शिक्षक तथा कर्मचारीहरुले सेवामा लापरवाही गर्नेक्रम बढेपछि त्यसको नियन्त्रण गरी सुशासन कायम गर्न विद्युतीय हाजिरीले सहयोग पुर्याउने जनप्रतिनिधिको अपेक्षा छ ।
सदरमुकाम समेत रहेको म्याङलुङ्ग नगरपालिकाले सेवा क्षेत्रभित्रका नागरिकबाट विभिन्न शीर्षकमा लिइने कर संकलनका लागि एउटै सफ्टवेयरको प्रयोग थालेको छ । सेवाग्राहीलाई सजिलो पर्ने वडा कार्यालयमा इन्टरनेट जडान गरी नगरपालिका र वडा कार्यालयबाट समेत एउटै सिष्टम र सफ्टवेयरबाट कर संकलन गर्ने व्यवस्था मिलाएको हो । लालीगुराँस नगरपालिकाले पनि सबै वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई बढावा दिएको छ ।
जिल्लामा दुई नगरपालिका र चार गाउँपालिका गरी छ वटा स्थानीय तह छन् । सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सेवामा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेका छन् । लामो समयपछि भएको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यशैली प्रविधिमैत्री हुँदा गाउँ–गाउँसम्म पनि नयाँ प्रविधिको पहुँच पुगेको छ । प्रविधिको प्रयोग पनि बढेको छ ।
म्याङलुङ्ग नगरपालिकाका सबै वडा कार्यालयहरुमा जनप्रतिनिधिहरु निर्वाचित भएपछि इन्टरनेट जडान भएको छ । छ स्थानीयका ४३ वडाहरु मध्ये साविकका गाविस भवनमा राखिएका अधिकांश वडा कार्यालयहरुमा कम्प्युटर र इन्टरनेटको पहुँच पुगेको छ । नपुगेका केहीले पनि यही वर्ष इन्टरनेट जडान गरी सेवामा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेका छन् ।
कम्प्युटर र इन्टरनेट जडान भइसकेका सबै स्थानीय तहले सिफारिस, पन्जीकरण लगायत सेवाहरुमा समेत प्रविधिको प्रयोग थालेका छन् । जनप्रतिनिधिहरुको प्रविधि मोहका कारण दक्ष कर्मचारी भएका कार्यालयहरुमा सेवाको गुणस्तर समेत वृद्धि भएको छ । तर केही स्थानीय तहमा दक्ष कर्मचारी नहुँदा सेवा प्रवाहमा प्रविधिको हुन सकेको छैन । वडा कार्यालयहरुमै इन्टरनेट, कम्प्युटर जडान भएपछि सेवाग्राहीहरु कार्यालयमा आएर घण्टौं इन्टरनेट चलाएर बस्ने गर्छन् ।
समय र प्रविधिको विकाससँग मिल्दो जुल्दो कार्य गर्नुपर्ने भएकाले पनि जनप्रतिनिधिहरुको ध्यान प्रविधिमैत्री सेवा प्रवाहमा गएको हो । गाउँ सभा÷नगर सभा भइसकेका स्थानीय तहले प्रविधिसँग सम्बन्धित थुप्रै योजनाहरु अघि सारेका छन् ।
म्याङलुङ्ग र लालीगुराँस नगरपालिकाले विभिन्न पार्क निर्माण तथा फ्रि–वाईफाई जोन बनाउने योजना बनाएका छन् । बजार क्षेत्रमा सीसी टिभी जडान, हटलाइन तथा टोल–फ्री, सबै सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी मेसिन, कम्प्युटर शिक्षा, अनिवार्य अंग्रेजी माध्यमको शिक्षा जस्ता कार्यक्रमहरु प्राथमिकतामा परेका छन् । प्रविधिको पहुँच विस्तार र विकासका लागि स्थानीय तहको मोटो रकम खर्च भइरहेको छ ।
म्याङलुङ्ग नगरपालिकाले जारी आर्थिक वर्षदेखि नै विद्युतीय हाजिरी जडानका लागि तयारी गरेको मेयर सन्जय तुम्बाहाम्फेले बताउनुभयो । ‘सेवाको गुणस्तर सुधार गर्ने कुरामा विद्युतीय हाजिरीले सहयोग पुर्याउने रहेछ,’ उहाँले भन्नुभयोे, ‘सकेसम्म नगरपालिकाको कार्यालयमा हस्तलेखन गर्नु नपर्ने गरी सेवाको व्यवस्थापन गर्ने तयारी छ ।’ नगर क्षेत्रमा आवश्यकता पहिचान गरी सिसि टिभी जडान गर्ने कार्यक्रम पनि यही वर्षका लागि रहेको उहाँले बताउनुभयो । ‘मालपोत तिर्न सेवाग्राहीले अब नगरपालिका आइरहनु पर्दैनँ, वडा कार्यालयमै बुझाए हुन्छ, त्यहाँ बुझाएको राजस्व सिधै नगरपालिकामा आउँछ,’ उहाँले भन्नुभयो ।
नगरपालिकाले प्रवाह गर्ने सेवामा प्रविधिको प्रयोग बढाएको लालीगुराँसका मेयर अर्जुन माबोहाङले बताउनुभयो । ‘बजार क्षेत्रमा वाईफाई जोन, पर्यटक लक्षित पार्कमा फ्रि–वाईफाई, सबै सेवा पेपरलेस बनाउने जस्ता प्रविधिमैत्री योजना छन्,’ उहाँले भन्नुभयो ।
छथर गाउँपालिकाले पनि प्रविधिको प्रयोगलाई जोड दिएको अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो । ‘प्रविधिको प्रयोग त अहिले जरुरी नै भएको छ,’ उहाँले भन्नुभयोे, ‘प्रविधिले सेवालाई गुणस्तरीय र छरितो पनि बनाउने रहेछ, त्यसैले प्रविधि प्राथमिकतामा परेको हो ।’ नयाँपन ल्याउने अभ्यास तथा जनताको चाहनालाई ध्यानमा राख्दा प्रविधिको प्रयोग आफैँ बढेको उहाँले बताउनुभयो ।
आठराई गाउँपालिकाले पनि सेवालाई प्रविधिमैत्री बनाउन प्रयत्न गरिरहेको अध्यक्ष मानबहादुर लिम्बुले बताउनुभयो । ‘हाम्रो गाउँपालिकाको सेवा क्षेत्रमा विद्युतको राम्रो पहुँच छैन,’ उहाँले भन्नुभयोे, ‘त्यसैले पनि प्रविधिमैत्री बनाउन सकस छ, तर सबैको फोकस प्रविधिमैत्री सेवामै छ ।’ गाउँपालिकासहित सबै कार्यालयमा विद्युतीय हाजिरी जडान, कम्प्युटर शिक्षालगायत कार्यक्रमहरु पहिलो वर्षबाटै प्राथमिकतामा परेका उहाँले बताउनुभयो ।
उज्यालो अनलाइनबाट ।