खोटाङ । किरात समुदायको ऐतिहासिक थलो मानिने खोटाङको उत्तरी गाउँपालिका ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा किरात संग्रहालय निर्माण सुरु गरिएको छ ।

किरात जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषभुषा, गरगहना लगायतका बहुमुल्य सम्पदालाई संकलन गर्दै संरक्षणका लागि महेश्वरीमा संग्रहालय निर्माण सुरु गरिएको हो ।

करिब ५५ लाखको लागतमा ३ वर्षमा पूरा गर्नेगरी स्थानीय धिनडाँडास्थित ज्योति प्रावि नजिक तीन तले पक्की संग्रहालय निर्माणका लागि घडेरी सम्याउने, निर्माणस्थलमा बालुवा ल्याउने, गिटी तयार पर्ने, ढुंगा जुटाउने, आवश्यक काठ चिरानी गर्ने लगायतका काम भइसकेको निर्माण समितिको संयोजक खुक्सङ खम्बुले बताउनुभयो ।

यस आर्थिक वर्ष संग्रहालयको एक तला निर्माण गर्नेगरी काम थालिएको छ । हजारौँ वर्ष पूरानो इतिहास र सभ्यता भएको किरातीसँग सम्बन्धित संग्रहालय कम भएका कारण किरात राई यायोक्खा रिब्दुङ महेश्वरीको पहलमा किरात संग्रहालय निर्माणको योजना बनाइएको हो ।

किरात अध्यायन केन्द्रको रुपमा स्थापित गर्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने गरी दश किरातको प्रतीक स्वरुप ‘दश भुजा र दश कोण’ भएको संग्रहालय निर्माण गर्न लागिएको निर्माण समितिले जनाएको छ । संग्रहालयको भवन, सामाग्रीहरु राख्ने दराज र आल्मारी निर्माण, संग्रहालयमा राख्ने सामानहरुको खरिद तथा नयाँ सामान निर्माण लगायतका कामका लागि १६ लाख रुपैयाँभन्दा बढि रकम जम्मा भइसकेको संयोजक खम्बूले बताउनुभयो ।

संग्रहालयमा राई, लिम्बू, सुनुवार, याख्खा लगायतका जातिसँग सम्बन्धित तान, ढिकी, जाँतो, धनुष बाण, गुलेली, ढ्यांग्रो, भाला, हँसिया, चर्खा, डालो, थुन्से, कठुवा, हलो, जुवा, ढाकी, घडी लठ्ठी, ढाकर, घैंला, छपनी, ओख्ली, धिब्री, लोटा, फोसी, रासी, साँचो, भोटे ताल्चा, काठको आरी, भुने, काठको डाडु लगातका मौलिक गरगहना, कला, सीप, साहित्य झल्काउने बहुमुल्य सामग्रीलाई संकलन गरेर सजाएर राख्ने तयारी गरिएको छ । बास्तुकलाले सजाइने संग्रहालयको गजुर चिण्डोको बनाइने खम्बूले बताउनुभयो । संग्रहालयको भवन निर्माणका लागि देशबिदेशबाट सहयोग रकम जुट्नेक्रम जारी छ ।

भवनको भुईँ तलामा सामुहिक चुल्हो घर तथा माथिल्लो तलालाई संग्रहालय बनाउने तयारी निर्माण समितिको छ । संग्रहालय निर्माणका लागि तत्कालिन गाबिसबाट १ लाख र आदिबासी जनजाती प्रतिष्ठानबाट २ लाख बाहेक अन्य रकम चन्दा संकलन गरेर जम्मा गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । संग्रहालयका लागि स्थानीय शम्सेरजंग राई, मानबहादुर राई र पूर्णबहादुर राईले ८ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । संग्रहालयका लागि करिब ५० रोपनी जग्गा जुटाउने तयारी गरिएको छ ।

यसअघि, हलेसी प्रतिष्ठानको पहलमा धार्मिक तथा पर्यटकीयस्थल महादेबस्थानमा पनि किरात राई समुदायको ऐतिहासिक तथा पुरातात्विक सामग्रीको संरक्षण गर्ने उद्धेश्यले किरात सामग्रीहरु संकलन गरेर राखिएको थियो ।

तपाईको प्रतिक्रिया