भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले देशको सात वटै प्रदेशमा अधिकार सम्पन्न प्रादेशिक कार्यालय स्थापना गरी कम्तीमा एउटा नमूना प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ ।
सीटीईभीटीले आयोजना गरेको संघीय संरचनामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् विषयको अन्तक्र्रिया कार्यक्रममा सदस्य सचिव पुष्परमण वाग्लेले सीटीईभीटीले प्रत्येक प्रदेशमा एउटा नमूना प्राविधिक शिक्षालय स्थापना गरी परिषद्ले प्रदान गर्ने सम्पूर्ण कार्यक्रम त्यहीँबाट सञ्चालन गर्ने जानकारी दिनुभयो । सीटीईभीटीले संचालन गर्ने कार्यक्रमहरुको गुणस्तर अभिबृद्घी गर्ने बताउँदै अनुगमन तथा मुल्यांकन प्रणालीलाई व्यवहारिक र पारदर्शी बनाउनेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. गिताभक्त जोशीले परिवर्तीत अवस्थामा सीटीईभीटीलाई कसरी समायोजन गर्ने भन्ने चुनौती रहेको बताउँदै वार्षिक ५ लाख युवा श्रम बजारमा आउने गरे पनि अहिले १ लाख १४ हजारलाई मात्र तालिम दिन सकिएको बताउँनुभयो ।
अब सात प्रदेशमा सात वटा मोडेल पोलिटेक्निक बनाउने नीति र बजेटमा ब्यवस्था रहेको बताउँदै उहाँले भन्नुभयो ‘सातै प्रदेशमा नयाँ संस्था बनाउने भन्दा पनि भएकालाई छनोट गरी सुधार गर्नुपर्छ, यसका लागि शिक्षा मन्त्रालय, योजना आयोग र अर्थ लगायत अरु मन्त्रालयसँग सीटीईभीटीको नेतृत्वले लबिङ गर्नुपर्छ ।’
सीटीईभीटीले धेरै कुराहरु सुधार्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘सीटीईभीटीमा विकृति छन्, जनमानसमा इमेज राम्रो छैन, अहिलेको सीटीईभीटी व्यवस्थापनले गर्नैपर्छ । नत्र सीटीईभीटी अगाडि बढ्न सक्दैन ।’
कार्यmक्रममा प्रा.डा.सुरेशराज शर्माले अबको समय युवा सशक्तिकरणको समय भएको बताउँदै सीटीईभीटीले क्षमता विकास र रोजगारीलाई जोड दिनुपर्ने औँल्याउनुभयो । अहिले सीटीईभीटीसँग दाता त्यति खुसी नरहेको चर्चा गर्दै उहाँले नेपाललाई प्राविधिक जनशक्ति कति छ ? पाँच वर्षमा कति चाहिन्छ ? दश वर्षमा कति चाहिन्छ त्यसको तथ्यांक खोज्नु जरुरी रहेको बताउनुभयो ।
शर्माले भन्नुभयो ‘युवालाई डिग्रीमात्र दिएर सशक्तिकरण हुनुसक्दैन, सीप दक्षता दिनु पर्छ र सतप्रतिशत जानेपछि मात्र प्रमाण पत्र दिइनु पर्छ, सीटीईभीटीले उत्पादन गरेको जनशक्तिलाई रोजगारी दिने निकायसँग समन्वय हुनुपर्छ ।’