तेह्रथुम । छथर गाउँपालिका–३, पञ्चकन्याको ज्यामिरे बस्ती शिक्षा र चेतनाको अभाबमा गरिबीले व्याप्त छ । यो गाउँमा लिम्बु जातिको मात्रै बसोबास रहेको छ । यहाँका बासिन्दा आर्थिक विपन्नताकै कारण शिक्षा, स्वास्थ्य लगायत सेवाको पहुँचमा पुग्न सकेका छैनन् ।

गरिबी र चेतना अभावकै कारण अहिले पनि यो गाउँका बासिन्दालाई कम उमेरको विवाह तथा ७ जनासम्म सन्तान जस्ता कुराहरु सामान्य लाग्छन् । यहाँका आमाहरुले विवाह गर्ने उमेर पुग्न लाग्दै ५ जनासम्म सन्तान जन्माइसकेका छन् । गाउँमा मातृ तथा शिशु मृत्युदर पनि उच्च रहेको छ । १२ वर्षमै विवाह गरेकी यहाँकी २७ वर्षीय सविना लिम्बु अहिले ७ सन्तानकी आमा भइसक्नुभएको छ । ज्यामिरे बस्तीकै विन्दुमाया लिम्बुका पनि ७ सन्तान भइसकेका छन् ।

यो गाउँकी ४२ वर्षे भीमकुमारी लिम्बुले १७ सन्तानलाई जन्म दिनुभएको छ । तर तीमध्ये १० जनामात्रै जीवित छन् । स्वास्थ्य संस्थासँगको पहुँच नहुँदा गाउँमा मातृ तथा शिशु मृत्युदर समेत वृद्धि भएको जनप्रतिनिधि इन्द्रकुमारी लिम्बुले बताउनुभयो ।

ज्यामिरे गाउँमा साना नानीहरुका लागि दलित सचेतना समाज नेपालको सहजीकरणमा शिशु हेरचाह केन्द्र सन्चालनमा रहेको छ । यो गाउँमा विद्यालय जानुपर्छ भन्ने चेतना क्रमशः विकास हुँदै आएपनि आफुले उब्जाएको अन्नबालीले दुई महिना पनि राम्रोसँग खान नपुग्दा समस्या भइरहेको छथरबाट पत्रकार प्रकाश पाक्साँवाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया