तेह्रथुम । म्याङलुङ्ग नगरपालिका–६, हरिसे स्थित सिंहदेवी आधारभूत विद्यालयको दुई कोठे भवनको शिलान्यास भएको छ । विद्यालयमा आज आयोजित एक कार्यक्रमका बीच जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले भवनको शिलान्यास गर्नुभयो ।
कक्षा–५ सम्म अध्यापन हुने विद्यालयको माग बमोजिम भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले १६ लाख रुपैयाँ बजेट उपलब्ध गराएको समाचार गुराँस न्युज डटकमले छापेको छ । सो बजेटबाट आगामी आषाढ मशान्तसम्म भवन निर्माण सम्पन्न गरिने विद्यालयका प्रधानाध्यापक मानबहादुर बुढाथोकीले बताउनुभयो । भवन शिलान्यास कार्यक्रममा जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेल, जिल्ला समन्वय समितिका सदस्य रेन्जी शेर्पा, जिल्ला शिक्षा कार्यालयका परीक्षा शाखा प्रमुख लिलानाथ पोखरेल लगायतले मन्तव्य राख्नुभयो ।
कार्यक्रम सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो । यो वर्ष जिल्ला शिक्षा कार्यायलले शिक्षा विभागबाट प्राप्त भएको विद्यालय क्षेत्र विकास, पुर्वाधार निर्माण कार्यक्रम अन्तर्गत ४७ वटा विद्यालयमा दुई कोठे र चार कोठे भवन तथा चर्पीहरु निर्माण गरिरहेको छ ।
कार्यालयले विभिन्न मापदण्ड र माग बमोजिम ८ विद्यालयलाई चार कोठे पक्की भवन, २३ विद्यालयलाई दुई कोठे पक्की भवन र १८ वटा विद्यालयलाई शौचालय निर्माणको कार्यक्रम प्रदान गरेको जिल्ला शिक्षा कार्यालयले गुराँस न्युजलार्इ जानकारी दिएको छ ।