काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य भीष्मराज आङ्देम्बेको आर्थिक सहयोगमा पाँचथरको मिक्लाजुङ–८ दुर्दिम्बामा विपन्न नागरिकको घर निर्माण भइरहेको छ ।
श्रीमतीले आत्महत्या गरेपछि एक्लो भएका भीम तामाङ र उनका छोराछोरी बर्खामा चुहिने र हिउँदमा चिसो नछल्ने टहरोमा बस्दै आएको जानकारी पाएपछि आङ्देम्बेले घर निर्माणमा आर्थिक सहयोग गरेका हुन् ।
घर निर्माणको संयोजन गर्दै आएको सामाजिक सेवाको क्षेत्रमा क्रियाशील संस्था जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले घर निर्माण यही १५ जेठमा हस्तान्तण गर्नेगरी भइरहेको बताए ।
उनका अनुसार घर निर्माणका लागि जिल्लास्थित रणशेर गणले नेपाली सेना खटाएको छ । स्थानीय सामुदायिक वनले काठ उपलब्ध गराएको छ ।
विपन्न तामाङ परिवारको दुःखबारे स्थानीय नेता गणेश वाजीले सहमहामन्त्री आङ्देम्बेलाई अघिल्लो महिना थाहा दिएका थिए ।
लगत्तै आङ्देम्बेले अध्यक्ष अधिकारीलाई फोन गर्दै ‘घर निर्माणको खर्च जति लाग्छ, बेहोर्छु, तपाईंले संयोजन गरेर काम थाल्नुहोस्’ भनेका थिए ।
अहिले घर निर्माणको आधा काम सकिएको वाजीले बताए । गणतन्त्र दिवसको दिन यही १५ जेठमा तामाङ परिवारलाई घर हस्तान्तरण गर्ने आङ्देम्बे र अधिकारीको लक्ष्य छ ।
यसअघि जिल्लाकै फालेलुङ– ३ को बिकटेका एक जना अपाङ्गता भएका विपन्न परिवारलाई पनि आङ्देम्बे, अधिकारीसँगै वडा कार्यालयले घर निर्माण गराइदिएका थिए ।