तेह्रथुम । शहरी विकासमन्त्री सीता गुरुङले कम्तिमा वडा तहसम्म बाह्रै महिना एम्बुलेन्स कुद्ने सडक पुर्याउनुपर्ने बताएकी छिन् । उनले आफ्नो कार्यकालमा वडासम्म भरपर्दो सडक सन्जाल विस्तारमा पहल गर्ने बताइन् । मन्त्री भएपछि बिहीबार पहिलो पटक गृहजिल्ला तेह्रथुम पुगेकी मन्त्री गुरुङले चुनावी अभियानमा मतदातासामु गरेका बाचाहरुलाई पूरा गर्न आफ्नो सम्पूर्ण प्रयास हुने बताइन् ।
आठराई गाउँपालिकाको सक्रान्तिबजारमा बिहीबारदेखि सुरु भएको मदन मेला २०८० को उद्घाटन गर्दै मन्त्री गुरुङले आफूले चुहानडाँडा विमानस्थल बनाउने सपना पूरा गर्न प्रयास गरिरहेको बताइन् ।
‘विकासको सबैभन्दा प्रमुख आधार नै सडक रहेछ । हामीले कम्तिमा पालिकादेखि वडा तहसम्मको सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउनुपर्छ । कम्तिमा बाह्रै महिना एम्बुलेन्स कुद्ने सडक सबै वडामा पुर्याउनुपर्छ,’ मन्त्री गुरुङले भनिन्, ‘यसकालागि मेरो सम्पूर्ण प्रयास हुन्छ । हिजो चुनावी अभियानका क्रममा हामीले तपाईहरूको समक्षमा आएर केही वाचाहरु गरेका छौँ । म ती वाचाहरु पूरा गर्नकालागि पनि प्रतिवद्ध छु ।’
उनले तेह्रथुम जिल्ला सुख्खाग्रस्त हुँदा खानेपानी, सिंचाई र आगलागीजस्ता समस्याहरु आएको, र ती नै कारणले बसाइँसराई समेत बढ्दो रहेको भन्दै त्यस्तो समस्याबाट मुक्त गर्न सरकारको प्रयास हुने बताइन् ।
‘सुख्खाग्रस्त गाउँहरुको संख्या धेरै छ । सिंचाईको समस्या छ, सुख्खाग्रस्त भएकै कारण ती गाउँहरुमा डढेलो लाग्ने, आगलागी हुने घटनाहरु धेरै भइरहेका छन् । अब हामी अहिले सबै ठाउँहरुमा खानेपानीको सुविधा पुर्याउने प्रयास गर्नुपर्नेछ,’ उनले भनिन् ।
उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न स्थानीय तहदेखि संघीय सरकारसम्मको एकीकृत पहल आवश्यक रहेको बताइन् ।
‘संविधानले माध्यमिक तहको शिक्षा स्थानीय तहको क्षेत्राधिकारभित्र राखेको छ । तर, संघीय सरकारले अहिलेसम्म पनि ऐन जारी गर्न सकेको छैन, शिक्षामा देखिएका समस्याहरुको सम्बोधन गर्नुपर्ने आवश्यक छ,’ उनले भनिन्, ‘सामुदायिक शिक्षाको सुधार अहिले राष्ट्रिय बहसकै विषय बनेको छ ।’