जाजरकोट । डोल्पाको त्रिपुरासुन्दरी–५ का ललित घर्ती दुई वर्षअघि नौ वटा खच्चडको सहयोगमा जाजरकोटको तल्लुबाट दुनैसम्म खाद्यान्नलगायत वस्तु ढुवानी गर्थे। दिनरात खच्चडसँग हिँडेर सदरमुकाम पुग्ने घर्ती अहिले ट्याक्टर मालिक भएका छन्।

उनले ६ महिनाअघि मात्रै खच्चड बिक्री गरी ट्याक्टर किनेका हुन्। अहिले तल्लुबाट सदरमुकामसम्म खच्चड हिँड्ने बाटोमा उनी ट्याक्टर चलाउँछन्। ‘ट्याक्टर चलाउन थालेपछि तल्लुबाट दुनै एकै दिनमा पुगिन्छ,’ घर्तीले भने। दिनमा दुई पटकसम्म दुनै–तल्लु आउने-जाने गर्दा आम्दानी पनि राम्रो भएको र ढुवानी गर्न पनि निकै सहज भएको उनले सुनाए।

अहिले निर्माणका सामग्रीदेखि अन्य दैनिक उपभोग्य वस्तु ढुवानी गर्नका लागि घर्तीको मोबाइलमा दैनिक फोन आउने गर्छ। ढुवानीका काम पहिलेभन्दा बढी पाउन थालेको उनको अनुभव छ। जाजरकोट सदरमुकामबाट तल्लुसम्म दुईतर्फी रूपमा ठूला यातायातका साधन सञ्चालन भइरहेका छन्। हिउँदयाममा भने ट्याक्टर, ट्रक एकतर्फी रूपमा मात्रै सञ्चालन गर्न मिल्ने यातायात व्यवसायी तिलक पुनले बताए। उनका अनुसार दुईतर्फी यातायात सञ्चालनका लागि बाटो साँघुरो भएकाले समस्या भएको हो।

ठूलीभेरी नगरपालिका–७ रत्नबहादुर भण्डारीले पनि १६ वटा खच्चड बिक्री गरेर ट्याक्टर खरिद गरेको बताए। ‘गाउँगाउँमा सडक पुगिसकेको छ। अधिकांश ठाउँमा ट्याक्टरबाट सामान ढुवानी हुन्छ। माग पनि बढेकाले पहिलाको तुलनामा आम्दानी पनि राम्रो हुन्छ’, उनले भने। खच्चडका लाइन लाग्ने तल्लो तथा मध्य डोल्पामा अहिले सवारी साधनको हर्न बज्ने गरेको छ।

अहिले निर्माणका सामग्रीदेखि अन्य दैनिक उपभोग्य वस्तु ढुवानी गर्नका लागि घर्तीको मोबाइलमा दैनिक फोन आउने गर्छ।

खच्चडबाट ढुवानी गर्दा महँगो पर्ने दैनिक उपभोग्य तथा निर्माणका सामग्री अहिले सवारीसाधनबाट ढुवानी गर्दा सस्तो भएको त्रिपुरासुन्दरी नगरपालिका बगरका रामचन्द्र न्यौपानेले बताए। उपल्लो डोल्पामा भने अझै पनि घोडा, खच्चड र चौंरीको भरमा ढुवानी हुँदै आएको छ। डोल्पोबुद्ध, शे फोक्सुण्डो, छार्काताङसुङ गाउँपालिकाका साथै काइकेमा घोडा, खच्चड र चौंरीकै भरमा ढुवानी हुँदै आएको छ। त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाले भने एम्बुलेन्स सेवासमेत सञ्चालन गरेका छन्।

सडकका कारण जुफाल विमानस्थलसँगको निर्भरता कम हुँदै गएको छ। जिल्लामा खाद्यान्न आपूर्तिलगायत अन्य अत्यावश्यक सामग्री ढुवानीमा सहजता आएको छ। जिल्लामा उत्पादन भएको जडीबुटी, खाद्यान्नबाली, फलफूललगायत वस्तु बाहिर जिल्लामा निर्यात गर्न थालिएको यहाँका किसानले बताएका छन्। पालिकाले समेत आन्तरिक सडक निर्माणलाई तिव्रता दिएका छन्।

अस्थायी रुट निर्माण गरेर सवारीसाधन चलाउने गरिएको भन्दै स्थायी रूपमा सडक निर्माणलाई तीव्रता दिइएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए। उनले भने, ‘त्रिवेणीबाट नर्क–भालु लेख हुँदै जुम्ला जोड्ने सडक निर्माण जारी छ। अन्य वडामा सडक निर्माणलाई तीव्रता दिएका छौं। संघीय र प्रदेश सरकारसँग समन्वय गरी काम अगाडि बढेको छ।’ उनले भेरी करिडोरमा जाजरकोटको पासागाडबाट डोल्पाको दुनैसम्म यातायातका साधन सञ्चालनमा भएकाले आवागमन सहज भएको बताए। नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडी नेतृत्वको टिमले झन्डै १४ वर्ष लगाएर उक्त क्षेत्रमा अस्थायी सडक निर्माण गरेको थियो।

सेनाले सरकारलाई सडक हस्तान्तरण गरेसँगै अहिले जाजरकोटको पासागाडदेखि तल्लुसम्म सडक कालोपत्र गरिँदै छ भने बेलिब्रिज पुल निर्माण भइरहेको छ। पक्की पुल निर्माणमा भने निर्माण व्यवसायीले ढिलासुस्ती गरेकाले समस्या भएको छ। पक्की पुलको ठेक्का क्याराभान निर्माण कम्पनीले लिएको छ। अहिले बेलिब्रिजबाट यातायातका साधन भेरी नदी पार गर्छन्। पूर्वी जाजरकोटका साथै तल्लो र मध्य डोल्पामा समेत यातायातको सहज पहुँचले गर्दा दैनिक यहाँका सर्वसाधारणको भान्सा पनि सस्तो भएको छ।

सडकका कारण जुफाल विमानस्थलसँगको निर्भरता कम हुँदै गएको छ। जिल्लामा खाद्यान्न आपूर्तिलगायत अन्य अत्यावश्यक सामग्री ढुवानीमा सहजता आएको छ।

भेरी करिडोरअन्तर्गत आधा दर्जन पुल अलपत्र परेका छन्। क्याराभान कन्स्ट्रक्सनले ठेक्का लिएका जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने आधा दर्जन पुल अलपत्र परेका हुन्। सडक विभागको पुल महाशाखाबाट ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी बोलपत्र गरिएको थियो। ठेक्का लिएको एक वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन।

नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, तात्रगाड, झुम्रेखोला र नलगाडमा क्याराभान कम्पनीले निर्माण जिम्मा लिए पनि काम गरेको छैन। जाजरकोट, डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीको पुल क्याराभान कन्स्ट्रक्सनले लिएर ठेक्का बिक्री गरेको छ। दुई वर्षसम्म ठेक्का होल्ड गरेर उक्त कम्पनीले रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको हो।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले खोलेको १५ करोडको ठेक्का क्याराभान कन्स्ट्रक्सनले १४ करोड १७ लाखमा रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई बिक्री गरेको थियो। सडक डिभिजन चौरजहारीलाई जिम्मेवारी नदिएर काठमाडौंबाटै खोलिएका यी ठेक्का अहिले वर्ष दिनदेखि अलपत्र परेका छन्।

पुलको निर्माणको डिजाइन स्टिमेट मन्त्रालयमा गत असोजदेखि थन्किएको छ। क्याराभान कन्स्ट्रक्सनका प्रमुख चन्द्र थकालीले पुल निर्माणको लागत अनुमानसम्बन्धी प्रतिवेदन डिजाइन स्टिमेट स्वीकृत गर्न पुल महाशाखालाई ताकेता गर्दा पनि सुनुवाइ नभएको आरोप लगाए। अहिले भेरी नदीका केही ठाउँमा कम भार बहन क्षमताका बेलिब्रज पुल निर्माण गरेर यातायातका साधन सञ्चालन भइरहेका छन्।

नलगाड नगरपालिकाको ताँसुगाड पुल, मैदेखोला, तात्रगाड, झुम्रेखोला र नलगाडमा क्याराभान कम्पनीले निर्माण जिम्मा लिए पनि काम गरेको छैन।

त्यस्तै जाजरकोटको तल्लु बगर, डोल्पाको खदाङ र छलगाडमा समेत पक्की पुलको बोलपत्र भएर २०७९ माघ २६ मा वाइपीएमआर जेभी चितवनले ठेक्का पाएको थियो। सडक विभागको पुल महाशाखामा सम्झौता भएर अहिले डिजाइन स्टिमेटको काम भइरहेको जनाइएको छ। यसको अनुगमन तथा मूल्यांकन सुर्खेतस्थित पुल विभागले हेर्दै आएको छ। ६ महिनाभित्र डिजाइन गरिसकेर पुलको भौतिकतर्फको काम सुरु गर्नुपर्ने बताइएको छ। डोल्पाको छलगाडमा समेत पक्की पुल निर्माणका लागि ठेक्का भइसकेको छ।

भेरी करिडोरअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पाको मरिमसम्म दुई सय ३१ दशमलव पाँच किलोमिटर लम्बाइ रहेको छ। भेरी करिडोरको जम्मा लम्बाइ तीन सय १० किलोमिटर छ। अहिले पासागाड–रिम्ना हुँदै तल्लु बगरसम्म कालोपत्रको काम सुरु भएको सडक डिभिजन चौरजहारीले जनाएको छ। यो सडक खण्डमा तोकिएको समयमा पुल निर्माणको काम नहुँदा बर्सेनि सास्ती हुँदै आएको छ।

तपाईको प्रतिक्रिया