काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङलाई आठराई गाउँपालिकाले बधाई ज्ञापन गरेको छ ।
गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमसहित वडाध्यक्षहरुले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री गुरुङलाई बधाई ज्ञापन गरेका हुन् । आठराई मन्त्री गुरुङको जन्मथलो हो । तेह्रथुमबाट निर्वाचित नेपाली कांग्रेसकी महिला नेतृ गुरुङ हालै शहरी विकासमन्त्री बनेकी हुन् ।
गाउँपालिका अध्यक्ष पाहिमले मंगलबार मन्त्रालयमा पुगेर मन्त्री गुरुङलाई बधाई ज्ञापन गर्दै गाउँपालिका जन्मथलोको विकासलाई प्राथमिकतामा राखेर काम गरिदिन आग्रह गरेको बताए ।
उनले आठराईको चुहानडाँडामा विमानस्थल निर्माणको योजनालाई प्राथमिकतामा राखेर पहल गर्न आग्रह गरेको बताए ।
त्यस्तै, फुसको छानोमुक्त बनाउने, सडक विस्तार र स्तरोन्नतिका योजनामा काम गर्न माग गरिएको अध्यक्ष पाहिमले जानकारी दिए ।