तेह्रथुम । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य सीता गुरुङले चुहानडाँडामा भएको आगलागीबाट पीडित परिवारलाई भेटेर यही वर्षको बर्षामा ओत् लाग्न पाउने गरी घर बनाउन पहल गर्ने बताएकी छिन् ।
बनमा लागेको डढेलो बस्तीमा सल्किएर चुहानडाँडाको हात्तीखर्कमा १४ घर नष्ट भएका थिए । तीमध्ये नौ घरमा मान्छे बस्दै आएका थिए भने आगलागीमा परी ४१ जनाको उठिबास लागेको थियो । आगलागीको एक सातापछि बिहीबार सो क्षेत्रमा पुगेकी सांसद गुरुङले आगलागीमा उठिबास लागेका परिवारलाई त्यही ठाउँमा पुनस्थापित गर्ने बचन दिइन् ।
उनले पीडितहरूलाई एक्लो महसुस नगर्न र आत्मबल बलियो बनाएर बस्न आग्रह गरिन् । ‘म तपाईहरूले चुनेर पठाएको जनप्रतिनिधि हुँ । तपाईहरूको साथमा जनप्रतिनिधिको हिसावले म साथै छु । स्थानीय सरकार छ, प्रदेश सरकार छ, संघीय सरकार छ, सिंगो राज्य छ । तपाईहरूलाई उठिबास लाग्ने अवस्था आउन नदिन म सम्पूर्णरुपले प्रयास गर्नेछु,’ सांसद गुरुङले भनिन्, ‘म तपाईहरूले बर्षामा ओत् लाग्न पाउने घर बनाउन पूरा प्रयास गर्नेछु ।’
सांसद गुरुङले बिहीबार आफ्नो पहिलो महिनाको तलबभत्ता वापत् प्राप्त भएको ५४ हजार रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण गरिन् ।
‘मैले क्षतिको विवरणहरू गाउँपालिकासँग मगाएर प्रधानमन्त्रीज्यूसँग अनुरोध गरिसकेकी छु । सरकारले यस्ता विपद्लाई सम्बोधन गर्न विपद् व्यवस्थापन प्राधिकरण बनाएको छ । त्यही प्राधिकरणमार्फत् तपाईहरूलाई बढीभन्दा बढी सहयोग हुने गरी कोशिस गर्नेछु,’ सांसद गुरुङले भनिन्, ‘स्थानीय सरकारले तपाईहरूलाई राहत दिएको छ, अब प्रदेश सरकारले पनि छिट्टै कही राहतको कार्यक्रम लिएर आउने भनेको छ । त्यसैले निराश हुनुपर्ने अवस्था छैन ।’
उनले पूराना आठ वटा गाविसहरू सुख्खा क्षेत्रमा पर्ने भन्दै ती क्षेत्रमा वर्षेनि हुने आगलागीका घटना रोक्न खरको छानामुक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।