काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस महामन्त्री गगन थापालाई अर्थमन्त्री बन्न प्रस्ताव गरेका छन् । काँग्रेससहितको ८ दलीय नयाँ गठबन्धन बनेसँगै काँग्रेस सरकारमा जाने तयारी गरिरहेको बेला दाहालले थापालाई अर्थमन्त्री बनेर संकटको चरणमा रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन भूमिका खेलिदिन आग्रह गरेका हुन् ।

‘मेरो दोस्रो प्रधानमन्त्रीकालमा स्वास्थ्य मन्त्रालयमा रहेर पनि तपाइँले उदाहरणीय काम गर्नुभयो । नयाँ गठबन्धन निर्माणमा पनि तपाइँले ठूलो भूमिका खेल्नुभयो । अर्थत्रन्त्रको समस्या समाधान गर्न पनि तपाइँले नेतृत्व लिन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ’ भेटमा प्रचण्डले राखेको प्रस्तावलाई उद्घृत गर्दै स्रोतले भन्यो, ‘आवश्यक परे देउवाजीसँग म पनि कुरा गरौंला, तपाइँ अर्थ मन्त्रालय सम्हाल्न तयार हुनुपर्यो ।’

थापाले भने अहिलै आफू मन्त्री बन्दा पार्टीभित्र राम्रो सन्देश नजाने भन्दै तत्काल सरकारमा जाने उपयुक्त समय नभएको बताएका थिए । ‘महाधिवेशनपछि पार्टी चुनावमा केन्द्रित हुनुपरेकोले पार्टीभित्रका कामहरु अपेक्षित रुपमा गर्न नसकिएको अवस्थामा महामन्त्रीको कार्यसम्पादनबारे प्रश्न उठिरहेको अवस्थामा सरकारमा जाँदा राम्रो यसले गलत सन्देश जानसक्छ भन्ने उहाँको जवाफ रह्यो,’ थापानिकट स्रोतले भन्यो, ‘अर्को महाधिवेशनमा सभापतिको तयारी गरिरहेको व्यक्ति आफैं सरकारमा जाँदा यसले पनि राम्रो सन्देश दिँदैन कि भन्ने उहाँको भनाइ छ ।’

काँग्रेसमा महाधिवेशन सम्पन्न भएको झण्डै १५ महिना वितिसके पनि अहिलेसम्म पार्टीका विभागले पूर्णता पाउन सकेको छैन । पार्टीभित्रका अधिकांश भातृ संस्थाहरु समेत अवधिवेशन हुन नसकेको अवस्था छ । यसले नेतृत्व विकासको अवसरलाई बञ्चित गरिरहेको भन्दै गुनासो हुने गरेको छ । युवा महामत्रन्त्रीहरु आउँदा समेत अहिलेसम्म अपेक्षित नतिजा आउन नसकेको भन्ने गुनासो आइरहेको अवस्थामा यी कामहरुलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने थापाको योजना छ ।

पुस १० मा बनेको एमाले सहितको भत्किएसँगै अहिले काँग्रेस सहितको ८ दलीय गठबन्धन बनेको छ । नयाँ गठबन्धनसँगै अर्थ मन्त्रालय काँग्रेसले पाउने पक्कापक्की जस्तै छ । यस्तो अवस्थामा काँग्रेसभित्र अबको अर्थमन्त्री को बन्ने भन्ने चर्चा सुरु भएको छ । काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत, उदयशम्शेर राणादेखि विनोद चाैधरीसम्म अर्थमन्त्रीको दाबेदारको रुपमा चर्चा हुने गरेको छ । यद्यपि उपसभापति खड्काले भने आफू सरकारमा जान इच्छुक नभएको सार्वजनिक रुपमै बताइसकेका छन् ।

तपाईको प्रतिक्रिया