झापा । झापामा १९ हजार जनाभन्दा बढीले स्वास्थ्य बीमा गराएका छन् । असोज २५ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा १९ हजार २ सय १२ जना आबद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक रमेन्द्रप्रसाद कुस्वाहले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा गराउने घरधुरीको संख्या चार हजार २५६ रहेको छ । जिल्लामा कार्यक्रम लागू भएसँगै सर्वसाधारणको सहभागिता उत्साहजनक रहेको प्रबन्धक कुस्वाहले बताउनुभयो । “स्वास्थ्य बीमा गराउनेको संख्या उत्साहजनक देखिएको छ” उहाँले भन्नुभयो, “घरघरमा गएर बीमा गराइँदैछ ।”

जिल्लामा १ सय ९२ स्वास्थ्य बीमा अभिकर्ताले स्वास्थ्य बीमा गराइरहेका छन् । झापामा उक्त सेवा लिनका लागि बनियानी स्वास्थ केन्द्र, धुलाबारी, शनिश्चरे, सुरुङ्गा, शिवगञ्ज, खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र, मेची अञ्चल अस्पताल भद्रपुर, मेची आँखा अस्पताल बिर्तामोड र आम्दा अस्पताल दमकलाई तोकिएको छ ।

पाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५ सय  सेवा शुल्क तिरेर स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाउने प्रावधान छ । पाँच जनादेखि बढी सदस्य भएको परिवारले रु ४ सय २५ अतिरिक्त तिरेर सदस्य बन्न पाउने छन् । सदस्य भएपश्चात सो परिवारलाई वार्षिक रु ५० हजारको उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया