तेह्रथुम । नेपाली कांग्रेसकी युवा नेता एवम् तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सीता गुरुङले चुहानडाँडा विमानस्थल निर्माण योजनामा आफ्नो निरन्तर पहल रहेको बताएकी छिन् । उनले बिगतमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा परिसकेको भएपनि सो आयोजनालाई अहिले कटौती गर्ने प्रयास भइरहेकोप्रति आपत्ति जनाइन् ।
‘हामीले विगतदेखि चुहानडाँडामा विमानस्थल बनाउने योजनामा काम गरिरहेका छौँ । त्यो प्रयास अझै पनि निरन्तर छ,’ उनले भनिन्, ‘मैले भर्खरै पनि सम्बन्धित मन्त्रालयमा पुगेर विमानस्थल निर्माण आयोजनाको फाइलबारे बुझेँ । कर्मचारीहरू त्यति सकारात्मक देखिएका छैनन्, जुन हाम्रो लागि खुसीको कुरा होइन । तर म त्यसबारे पर्यटनमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनेछु ।’
आठराई गाउँपालिका–२, खाम्लालुङस्थित झाँक्री गुफा परिसरमा रहेको खेलमैदानमा बुधबारदेखि सुरू भएको प्रथम ऐतिहासिक आठराई गाउँपालिका अध्यक्ष रनिङ कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै सांसद गुरूङले बिमानस्थल निर्माणको योजनामा आफूले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाइन् ।
उनले जिल्लाको नदीतटीय क्षेत्रमा खानेपानीको चरम समस्या रहेको भन्दै त्यसकालागि समेत दिगो समाधानको उपाय खोज्नुपर्ने बताइन् । ‘तेह्रथुमको नदी तटीय क्षेत्र सुख्खाग्रस्त छ । त्यो क्षेत्रमा खानेपानीको असुविधा छ । त्यस्ता ठाउँहरूमा खानेपानीको राम्रो प्रबन्ध हुनु आवश्यक छ,’ पूर्वराज्यमन्त्री समेत रहेकी नेता गुरुङले भनिन्, ‘त्यसकालागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारले समेत साझेदारी गरेर खानेपानीको समस्या दिगो समाधानको पहल गर्नु जरुरी छ ।’
सांसद गुरुङले जिल्लाको समग्र विकासकालागि स्थानीय सरकारले साझेदारी गरेर काम गर्नुपर्ने बताइन् । ‘हाम्रो जिल्लामा पर्यटनको एकदमै राम्रो सम्भावना छ । त्यसकालागि एकीकृत योजना बनाएर काम गर्नुपर्ने आवश्यक छ । हाम्रो स्थानीय सरकारबीच समन्वय र सहकार्यको खाँचो छ,’ उनले भनिन् ।
सांसद गुरूङले आठराईबाट भित्रिएको एक जना पाहुना घुम्दै–घुम्दै छथरबाट बाहिरिने र छथरबाट प्रवेश गरेको अर्को पाहुना घुमफिर गरेर आठराईबाट बाहिरिने गरी पर्यटन पुर्वाधारको विकास गर्नुपर्ने बताइन् ।
उनले रोजगारीकै लागि विदेश पुग्नुपर्ने बाध्यतालाई कम गर्न स्थानीय सरकारहरूले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने र युवाहरूलाई व्यवसायिक कृषिमा आकर्षित गर्नुपर्ने बताइन् । ‘जबसम्म सामान्य नागरिकको जीवन आफैँमा आत्मनिर्भर हुदैन, त्यो बेलासम्म हामीले देखेका कुनै पनि सपना पूरा हुदैनन्,’ उनले भनिन्, ‘हामी सबैको साझा पेशा भनेको कृषि हो । तर कृषिमै लगानी, उत्पादन र बजारको समीकरण मिलेको छैन ।’
कार्यक्रममा बोल्दै सांसद गुरूङले आठराई गाउँपालिकाले युवा र खेलकूद विकासमा लगानी बढाएको भन्दै प्रशंसा गरिन् । उनले भविष्यमा आठराई क्षेत्रले विगतदेखि शिक्षा क्षेत्रमा पहिचान राखेकोजस्तै खेल क्षेत्रमा पनि स्थापित हुनसक्ने सम्भावनाहरू देखेको बताइन् ।
‘अहिले गाउँपालिकाले खेलकूद क्षेत्रमा लगानी बढाएको छ । खेल पुर्वाधार र मानव संशाधनको विकास गर्ने प्रयास भएको छ, त्यसमा म खुसी छु,’ सांसद गुरुङले अघि भनिन्, ‘आठराई क्षेत्र विगतदेखि शिक्षा क्षेत्रमा देशव्यापीरुपमा चिनिएको छ । अब खेलकूदको क्षेत्रमा पनि त्यस्तै छुट्टै पहिचान बनाउन सक्नुपर्छ, त्यसकालागि मेरोतर्फबाट विशेष शुभकामना व्यक्त गर्दछु ।’
सांसद गुरूङले गाउँपालिकाले खेलकूदसँगै शिक्षा, स्वास्थ्य र पुर्वाधार क्षेत्रको विकासकालागिे एकीकृत विकास मोडेल अपनाउनुपर्ने बताइन् ।
गाउँपालिकाले रनिङ कपअन्तर्गत पुरुष तथा महिला फुटबल र पुरुषतर्फ भलिबल प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिताको फाइनल खेल भने फागुन २४ गते हुने गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फको फुटबल खेलमा विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख तथा महिलातर्फको विजेता ६० हजार, उपविजेताले नगद ४० हजार प्राप्त गर्नेछन् ।