तेह्रथुम । आठराई गाउँपालिका-६, चुहानडाँडाको हात्तीखर्कका अग्नीपीडित परिवारलाई गाउँपालिकाले राहत बितरण गरेको छ । गत शुक्रबार दिउँसो भएको भीषण आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको थियो ।
पीडितलाई प्रति परिवार नगद ३० हजार रूपैयाँ र १३ हजार ५ सय रूपैयाँ बराबरको खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए । प्रति परिवार चामल ५० केजी, दाल १०केजी, आलु ५ केजी, नुन २ केजी, चाउचाउ १ कार्टुन, चिनि २ केजी, चियारङ १ प्याकेट, प्याज २ केजी, र लत्ताकपडाहरू राहत स्वरूप वितरण भएको छ ।
त्यस्तै आठराई गाउँपालिका ६ चुहानडाँडा वडा कार्यालयले प्रति परिवार ९ हजार रूपैयाँ बराबरको भाडावर्तन पीडित परिवारलाई उपलब्ध गाएको वडा अध्यक्ष कृष्णप्रसाद बास्कोटाले बताए । तामाङ समुदायको बसोबास रहेको हातिखर्कमा आगलागी भएको १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खालि रहेको थियो । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् ।
घरमा रहेका चौपाया, अन्नपात र लत्ताकपडा जलेर नष्ट हुदाँ करिव ३ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट सोम बहादुर तामाङ, विरधन घिसिङ, आस बहादुर घिसिङ, भिम बहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको थियो ।
दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुभास घिसिङ र अमर बहादुर वाइबाको घरमा बस्दै आएका लामामणी तामाङको घर संगै अन्नपात र लत्ताकपडा नष्ट भएको थियो । राई बहादुर तामाङ, डिकमान तामाङ, संखर योञ्जन, जस बहादुर घिसिङ र भक्त बहादुर वाइबाको खाली घर जलेर नष्ट भएको थियो ।
आठराईको सुख्खाग्रस्त क्षेत्रमा रहेको हातिखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ । बस्तीमा पानीको अत्यन्तै समस्या रहेको छ भने, फुसको छाना रहेका घरहरू छन् । तमोर नदि किनारको जंगलबाट सुरूभएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा ठूलो क्षति भएको हो । विस्थापित परिवारहरू स्थानीय छिमेकी र बारिमा पाल टाँगेर बसेका छन् ।