तेह्रथुम । लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुरमा आँखामा लाग्ने मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया शिविर चलिरहेको छ । नगरपालिकाको आर्थिक सहयोग र तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतसहितका चिकित्सकहरुको उपस्थितिमा शिविर सन्चालन भएको हो ।

म‌ंगलबारदेखि सन्चालित शिविर बिहीबारसम्म सन्चालन हुनेछ । शिविरमा तेह्रथुमसहित छिमेकी जिल्ला धनकुटा र संखुवासभाका समेत गरी तीन सयभन्दा धेरै मोतिबिन्दुका बिरामी शल्यक्रियाका लागि आएका मेयर अर्जुन माबोहाङले बताए ।

तेह्रथुमका ६, संखुवासभा र धनकुटा जिल्लासमेतका गरी १० भन्दा बढी स्थानीय तहमा पुगेर मोतिबिन्दुका ३ सयभन्दा बढी बिरामीको छनोट गरिएको थियो । ती बिरामीको बुधबार बिहानबाट शल्यक्रिया सुरु गरिएको तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले बताए । डा. रुइतसहितको चिकित्सक टोलीले बिरामीको शल्यक्रिया गरिरहेको छ ।

तेह्रथुमसहितका पहाडी जिल्लामा आँखा सम्बन्धी बिरामीको संख्या धेरै भएको र अन्य जिल्लाका बिरामी समेतलाई यहाँ पायक पर्ने भएकाले बसन्तपुरमा नि:शुल्क शिविर संचालन गरिएको मेयर माबोहाङको भनाइ छ । तीन जिल्लाका स्थानीय तहमा भएको छनोट शिविरमा २ हजारभन्दा बढी बिरामीले आँखा चेकजाँच गराएको नगरपालिकाले जनाएको छ । शल्यक्रिया गर्नुपर्ने बिरामी र बिरामीका कुरुवालाई नगरपालिकाले नि:शुल्क खाना र बस्नको व्यवस्था गरिदिएको छ ।

 

तपाईको प्रतिक्रिया