ओखलढुंगा । ओखलढुंगाको मोलुंग गाउँपालिकाको सम्पर्क कार्यालय जिल्ला सदरमुकाममै राखेर सञ्चालन गरिएकोे पाइएको छ ।
सदरमुकाममा गाउँपालिकाको सम्पर्क कार्यालय हुँदा कर्मचारी पनि सदरमुकामा बस्ने गरेका छन् । सेवाग्राही गाउँपालिकामा कर्मचारी नभेटिएपछि कर्मचारी खोज्दै सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।
गाउँपालिकाका नासु रामकाजी श्रेष्ठको घरमा कोठा भाडामा लिएर गाउँपालिकाको सम्पर्क कार्यालय सञ्चालन गरिएको हो । गाउँपालिकाको कार्यालय प्राप्चामा रहे पनि सदरमुकाममा सञ्चालन गरेको विषयमा मोलुंग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वविजय शर्माले अहिले योजना सम्झौता भइरहेको, बैंक खाता सञ्चालनलगायतका काम गरिरहन परेकाले सदरमुकाबाट काम गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले प्राविधिक समेत सदरमुकाम बस्ने भएकाले योजना काम गर्न गाउँपालिकामा समस्या रहेको दाबी गर्नुभयो ।
गाउँपालिकाका प्रशासन फाँटका प्रमुख समेत रहेका नासु श्रेष्ठले सदरमुकाममा आफ्नै घर भाडामा लगाएर सम्पर्क कार्यालय खोलेको विषयमा यस्तो प्रश्न गाउँपालिकाका अध्यक्षलाई सोध्नु भन्ने जवाफ दिनुभयो । श्रेष्ठले आफ्नो घर गाउँपालिकाले भाडामा लिएको भन्दै चलन चल्तीको भाडा लिने बताउनुभयो ।
गाउँपालिकाका कर्मचारी सदरमुकामै बसेर सम्पर्क कार्यालय चलाएको विषयमा भने गाउँपालिका प्रमुख मणिराज राईले प्राविधिक काम मिलाउन मात्रै कर्मचारी सदरमुकाम बसेको बताउँदै आफूले त्यस विषयमा छलफल गर्ने बताउनुभयो ।
नागरिकलाई सेवा प्रवाहलाई सहज बनाउने काममा आफू लाग्ने राईको भनाइ छ । स्रोतका अनुसार गाउँ कार्यपालिकाको मौखिक सहमतिमै सम्पर्क कार्यालय खडा गरिएको हो ।
गाउँपालिकाले अन्य गाउँपालिकाको तुलनामा २० हजारभन्दा बढीमा गाडी भाडामा लिएको छ । एक वडा अध्यक्षको आफन्तको गाडी भाडामा लगाउन अरुलेभन्दा बढी भाडामा लिइएको (नाम नबताउने शर्तमा) गाउँ कार्यपालिकाका एक सदस्यले बताउनुभयो ।
मोलुंग गाउँपालिका–७, का वडा अध्यक्ष हेम सुनुवारले कर्मचारी जिल्ला बसेर नागरिकले दुःख पाएकाले गाउँपालिकामा खटाउनु पर्ने बताउनुभयो । कर्मचारी वडा तथा गाउँपालिकामा तत्काल खटाउन उहाँले माग पनि गर्नुभयो ।