काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने चुनावका लागि ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक÷अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।
प्रदेश नं १ मा १२, प्रदेश नं २ मा नौ, प्रदेश नं ३ मा १७, प्रदेश नं ४ मा १२, प्रदेश नं ५ मा ११, प्रदेश नं ६ मा १२ र प्रदेश नं ७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्यको ५६ पदका लागि हुने चुनावका लागि दुई हजार ५६ जना मतदाता कायम गरिएको छ ।

प्रदेश १

प्रदेश नं. १ मा तीन पार्टीबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । दर्ता गर्ने उम्मेदवारमा वाम गठबन्धनबाट महिला दुई, खुल्ला तीन, दलित एक र अल्पसंख्यकबाट एक गरी सात जना छन् ।
यस्तै, नेपाली काँग्रेसबाट महिला एक, खुल्ला एक, दलित एक र अल्पसंख्यकबाट एक गरी जम्मा चारजनाले मनोनयनपत्र दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अल्पसंख्यकमा एकजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा (माओवादी केन्द्र) बाट महिला सदस्यमा विना पोखरेल (मोरङ), नेकपा (एमाले)बाट महिला सदस्य नैनकला ओझा (मोरङ), खुल्लाबाट एमालेका हरिचरण शिवाकोटी (झापा), पर्शुराम मेघी गुरुङ (संखुवासभा), खड्गबहादुर बस्नेत (मोरङ) र अल्पसंख्यकमा अगम वान्तवा (इलाम) उम्मेदवार बन्नुभएको छ ।
कांग्रेसबाट खुल्लामा रमेशजंग रायमाझी (मोरङ), महिलामा सरिता प्रसाईं (झापा), दलितबाट विनकुमार विश्वकर्मा (झापा) र अल्पसंख्यकबाट महेश जाजुले सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवराज दुलालले बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अल्पसंख्यकमा अनुपमादेवी साह (मोरङ) को उम्मेदवारी परेको छ । महिला सदस्यमा माओवादी केन्द्रका विना पोखरेल, एमालेका नैनकला ओझा र कांग्रेसका सरिता प्रसाईंको मात्र उम्मेदवारी परेकाले तीनैजना निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँहरूले माघ १५ गते दावी विरोधपछि प्रमाणपत्र पाउनु हुनेछ ।

प्रदेश २

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं २ मा नौजनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामका अनुसार खुलातर्फ नेपाली काँगे्रसका जितेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव, नेकपा (एमाले)का सुमनराज प्याकुरेल र नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महिला सदस्यतर्फ काँगे्रसका मुक्ताकुमारी यादव, संघीय समाजवादी फोरम नेपालका प्रमिला यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लालले मात्र उम्मेदवारी दर्ता गराउनुभएको छ । दलिततर्फ संघीय समाजवादी फोरम नेपालका रामपृत पासवानले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश नं २ मा प्रदेशसभा सदस्य १०७ र स्थानीय तहका २७२ गरी ३७९ जना मतदाता छन् ।

प्रदेश ३

प्रदेश नं. ३ मा ८ सिटका लागि  १७ जनाको उम्मेवारी परेको छ । वाम गठबन्धनले आठ, कांग्रसले चार र नेमकिपाले ४ सिटमा उम्मेदवारी दिएका छन् । वाम गठबन्धनबाट पनि एमालेले ६ र माओवादीले दुई सिटका लागि उम्मेदवारी दिएको हो । वाम गठबन्धनबाट खुलातर्फ रामबहादुर थापा बादल, वेदुराम भुसाल र बलराम बाँस्कोटाको उम्मेदवारी दिएका छन् ।
त्यस्तै महिलातर्फ पार्वती रावल, उदया शर्मा, दलिततर्फ सिंहबहादुर बिक, अल्पसंख्यकतर्फ रामचन्द्र राई दनुवारको उम्मेदवारी परेको छ । कांग्रेसले खुलातर्फ रोधश्याम अधिकारी, महिलामा धना खतिवडा, अपांगताबाट मदनकृष्ण श्रेष्ठ, दलित कोटाबाट हरिशरण नेपालीलाई उम्मेदवार बनाएको छ ।
नेमकिपाबाट कृष्णबहादुर तामाङ खुला, गीता काफ्ले महिला, श्याम विशंख दलित र हिमालेश्वर मूलले अल्पसंख्यकमा उम्मेदवारी दिएका छन् । राप्रपाबाट लक्ष्मी देसारले महिलामा उम्मेदवारी दिनुभएको छ ।

प्रदेश ४

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ४ मा चार वटा राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपा (एमाले) नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबाट १२ जनाको उम्मेदवारी परेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो ।
प्रदेश नं ४ का लागि राष्ट्रियसभा सदस्यमा नेकपा एमालेबाट रामबहादुर थापा (अपांग) शान्ति अधिकारी जिसी (महिला), गणेश तिमल्सिना (खुला) र दीपा गुरुङ (महिला)ले उम्मेदवारी दिनुभएको छ ।
नेपाली काँग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा रानामगर (महिला), जीतबहादुर नेपाली (दलित) र प्रकाश पन्थ (अपांग)ले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट दीनानाथ शर्मा (खुला) र खीमकुमार विक (दलित) उम्मेदवारी दिनुभएको छ भने राष्ट्रिय जनमोर्चाका तर्फबाट मीना पुन (महिला) र कृष्णप्रसाद शर्मा अधिकारी (खुला)ले उम्मेदवारी दिनुभयो । प्रदेश नं ४ मा राष्ट्रियसभा सदस्यमा मतदान गर्नेको संख्या २३० जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश ५

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ५ बाट ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दाङको घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा (एमाले)बाट चार, नेपाली काँग्रेसबाट चार, नेकपा (माओवादी केन्द्र) बाट दुई र राष्ट्रिय जनमोर्चाबाट एक गरी ११ जनाले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार एमालेबाट खुल्लातर्फ रुपन्देहीका खिमलाल भट्टराई, महिलातर्फ दाङकी कोमल ओली र रोल्पाकी मीना बुढा तथा दलिततर्फ पश्चिम नवलपरासीका रामलखन चमारले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
काँग्रेसबाट खुल्लातर्फ रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय, महिलामा दाङका अनिता देवकोटा, दलितमा बाँकेका मैकुलाल वाल्मीकी र अपाङ्गमा रुकुम पूर्वका लुटबहादुर खत्रीले मनोनयन दर्ता गराउनुभएको छ ।
माओवादी केन्द्रबाट खुल्लामा अर्घाखाँचीका चन्द्रबहादुर खड्का र अपाङ्गबाट रोल्पाका राजकुमार कुँवरले उम्मेदवारी दर्ता गराउनुभएको छ भने राष्ट्रिय जनमोर्चाबाट रश्मीराज नेपालीले खुल्लामा दाङबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । खुल्लातर्फ तीन, महिलातर्फ तीन, दलित र अपाङ्गतर्फ एक/एक गरी आठ जना राष्ट्रिय सभासदस्यमा निर्वाचित हुनेछन् ।

प्रदेश ६

प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ । यस प्रदेशबाट राष्ट्रियसभाका लागि आठ सदस्य निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्यका लागि नेपाली काँग्रेसबाट चार, नेकपा (एमाले)बाट पाँच र माओवादी केन्द्रबाट तीन जनाको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार दलित सदस्यतर्फ दुई, महिला सदस्यतर्फ चार, अपाङ्ग/अल्पसंख्यकतर्फ दुई र अन्यमा चार जनाको उम्मेदवारी परेको छ ।
कांग्रेसबाट दलिततर्फ सल्यानका ७० वर्षीय मित्रलाल सार्की, महिलातर्फ मुगुकी सूर्यदेवी मल्ल, खुल्लातर्फ कालीकोटका ७२ वर्षीय विष्णुबहादुर शाही र अपाङ्गतर्फ पश्चिम रुकुमका ६८ वर्षीय गोपालप्रसाद शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमालेबाट दलिततर्फ कालीकोटका ५५ वर्षीय नरपति लुवार, हुम्लाकी कविता बोगटी र सुर्खेतकी नन्दा चपाई, खुल्लातर्फ जाजरकोटका भैरवसुन्दर श्रेष्ठ र पश्चिम रुकुमका ठगेन्द्रप्रकाश पुरीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै माओवादी केन्द्रबाट महिलातर्फ मुगुकी युटुन तामाङ, खुल्लातर्फ जाजरकोटका कालीबहादुर मल्ल र अपाङ्ग÷अल्पसंख्यकमा कालीकोटका जीवन बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रियसभामा ६ नं प्रदेशबाट महिला तीन, अपाङ्ग÷अल्पसंख्यक एक, दलितबाट एक र अन्यबाट तीन जना निर्वाचित हुनेछन् ।

प्रदेश ७

प्रदेश नं ७ मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय डोटीका अनुसार अल्पसंख्यक वा अपाङ्गतर्फ नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा र नेपाली काँग्रेसका छत्रराज जोशी, दलिततर्फ नेकपा (एमाले)का चक्रबहादुर स्नेही र काँग्रेसका शेरीराम पार्कीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यसैगरी खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी, महिलातर्फ एमालेकी इन्दु कडरिया र कमलाकुमारी ओली, काँग्रेसकी तारादेवी भट्टले पनि आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयका प्रमुख नन्दीराज ओझाले जानकारी दिनुभयो ।
खुल्ला र महिलातर्फ तीन/तीन जनाको उम्मेदवारी परेकाले उहाँहरू निर्विरोध निर्वाचित हुने देखिएको छ । यसैगरी एक÷एक जना निर्वाचित हुने अल्पसंख्यक वा अपाङ्ग र दलिततर्फ दुई/दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ सदस्य निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया