काठमाडौं । भारतीय अर्बपति गौतम अदानीको मूल्य बिहीबारसम्म १ खर्ब डलर भन्दा धेरैले घटेको छ । अमेरिकी सर्टसेलरसम्बन्धी अनुसन्धान संस्था हिन्डेनवर्गको प्रतिवेदनपछि मात्रै अदानीको सम्पत्तिमा सो बराबरको गिरावट आएको हो । बिहीबार अदानी समूहले २ अर्ब ५० करोड स्टक बिक्री प्रस्ताव अस्वीकृत भएपछि सो समूहको मूल्यमा झनै ठूलो गिरावट आएको थियो । योसँगै अदानी समूहको सम्पत्ति २७ प्रतिशतले घटेको छ जुन अघिल्लो वर्षको मार्चपछिकै कम हो ।

छोटो अवधिमै अदानीको सम्पत्ति मूल्यमा आएको बदलावका कारण भारतको बजार, अर्थतन्त्रदेखि राजनीति समेत धर्मराउन थालेको छ । विपक्षी दलले हिन्डेनवर्गको रिपोर्टमा उल्लेखित विषयमा व्यापक छानविनको माग गरेका छन् । भारतीय रिजर्भ बैंकले उक्त समूहको छानविनका लागि प्रक्रिया सुरु गरिसकेको छ ।

यसैबीच, सिटीग्रुप नामक अमेरिकी वित्तीय सेवा संस्था सिटी बैंक इन्कर्पोरेसनले अदानी ग्रुपमा कम्पनीहरुको शेयरलाई मार्जिन कारोबारका प्रयोजनका लागि स्वीकार रोक लगाएको छ ।

अदानी ग्रुप यस्तो समूह हो जसले फ्रान्सको टोटल इनर्जीज जस्तो जायन्ट कम्पनीसँग लगानीको साझेदारी गरेको छ । यो समूहमा युएईको अवुधाबी इन्टरनेशनल जस्तो कम्पनीको समेत साझेदारी छ । समूहले जसले विश्वभर बन्दरगाहदेखि विद्युत् क्षेत्रमा लगानी विस्तार गरेको छ । अहिलेको संकटलाई अन्तर्राष्ट्रिय मिडियाहरुले अदानी समूहको भाग्यमा आएको नाटकीय मोडको रुपमा लिएका छन् ।

हिन्डेनवर्गको रिपोर्टले गौतम अदानीलाई व्यक्तिगत रुपमा निकै तल पुर्याएको छ । यसअघि विश्वको धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरमा पुगेका उनी १६ औं नम्बरमा झरेका छन् । यसले उनको वर्षौदेखि रहेको एशियाको सर्वाधिक धनी व्यक्तिको पहिचान समेत खोसिदिएको छ । उनबाट खोसिएको यो पहिचान अहिले उनकै प्रतिद्वन्द्वी मुकेश अम्बानीको हातमा पुगेको छ । अहिले अदानीको सम्पत्ति झण्डै ६४.६ अर्ब डलरमा झरेको छ ।

यद्यपि अदानी आफ्नो समूहप्रति गुमेको विश्वास फर्काउन प्रयासरत छन् । ब्लुमवर्गको रिपोर्ट अनुसार उनले आफ्ना ऋणको प्रिपेमेन्ट तथा प्रतिज्ञा गरेका भुक्तानीहरु चुक्ता गर्न केही ऋणदाताहरुसँग छलफल गरिरहेका छन् । सम्पत्तिको मूल्य घटेर मार्जिन कल आउनुअघि नै केही भुक्तानी गरेर अदानीले आफ्नो समूहको विश्वास थप गुमाउन रोक्ने प्रयास गरिरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

व्यापक चिन्ता

अदानी समूहको मूल्यमा आएको गिरावटले भारतीय बजारको स्थायित्वको सम्बन्धमा व्यापक चिन्ता सुरु भएको छ । रोटर्सका अनुसार भारतीय केन्द्रीय बैंकले स्थानीय बैंकहरुसँग अदानी समूहसँगको कारोबारको अवस्थाबारे जानकारी माग गरेको छ । उक्त समूहले भारतीय स्थानीय बैंकबाट मात्रै झण्डै २४.५ बिलियन डलर बराबरको ऋण लिएको बजार तथा लगाी समूह सीएलएसएको अनुमान गरेको छ ।

बिहीबार अदानी ग्रुप अन्तर्गतका कम्पनीहरुले जारी गरेका ऋणपत्रहरुको मूल्य समेत अत्यधिक घटेको छ । अदानीको ग्रीन इनर्जीसम्बन्धी कम्पनीको अहिलेसम्मकै तल्लो विन्दुमा झरेको छ । रोयटर्सका अनुसार उक्त ग्रुप अन्तर्गतका कम्पनीहरुले अमेरिकी डलरमा जारी गरिएको ऋणपत्रको व्याज भुक्तानीको सेड्युल तयार गरेको जनाएको छ ।

उता, राजनीतिक वृत्तमा समेत यो घटनाले चर्चा पाएको छ । भारतीय लोकसभाको प्रतिपक्षी दल काँग्रेस आईले हिन्डेनवर्गको रिपोर्टबारे छानबिन हुनुपर्ने माग राख्दै बिहीबार संसदमा सूचना दर्ज गरेको छ । काँग्रेसले यसका लागि संसदीय समिति गठन गर्न वा सर्वोच्च अदालतको निगरानीमा छानबिन गर्न माग गरेको छ । संसद बैठकमा केही संसदअरुले अदानीको विरुद्धमा नाराबाजी नै गरेका थिए । सोही कारण संसद बैठक स्थगित हुन पुगेको थियो ।

तपाईको प्रतिक्रिया