तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती पर्यटकीय तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा यो वर्ष पहिलो पटक हिमपात भएको छ । आज वुधबार विहान ९ बजेदेखि टिएमजे क्षेत्रको चौकी, मंगलबारे, गुफापोखरी, लामपोखरी, सुकेपोखरी र मिल्के जलजले क्षेत्रमा व्यापक हिमपात भइरहेको छ ।
गुफापोखरी क्षेत्रमा डेढ फिट सम्म हिउँ परेको स्थानीयबासी तथा गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले टेलिफोनमा जानकारी दिनुभयो । यो क्षेत्रमा यसवर्ष पहिलो पटक हिउँ परेको हो । गतवर्ष पौषको दोश्रो साताबाट हिमपात सुरु भएको थियो ।
यो वर्ष ढिला गरेर हिमपात सुरु भएको हो । विहानबाट निरन्तर हिउँ परिरहेको खनालले बताउनुभयो । हिमपात भएपछि रमाइलो भएको गुफामा घुम्न पुगेका काठमाडौँका सन्दीप निरौलाले बताउनुभयो । हिउँ परेपछि चिसोका कारण जिल्लाबासीको जनजीवन भने प्रभावित भएको छ ।
माथि हिउँ परेपछि तेह्रथुमका लसुने, बसन्तपुर, जिरिखिम्ती, मोराहाङ, श्रीजुङ क्षेत्रमा चिसो महसुर भएको स्थानीयबासीले बताएका छन् । चिसोका कारण जनजीवन कष्टकर भएको उनीहरुको भनाइ छ । उता संखुवासभाका मकालु, पावाखोला, हटिया, चेपुवा, नुनढाकी, जलजला, सभापोखरी लगायत गाउँमा पनि हिमपातले जनजीवन कष्टकर बनाएको गुफाबजारका सन्तोष लिम्बुले बताउनुभयो ।