तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङमा अाइतबार सम्पन्न खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि संसारी युवा क्लब आम्बुङले जितेको छ । फाइनल खेलमा जिरिखिम्ती युवा क्लब रातोलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै उसले उपाधि जितेको हो । उपाधिसँगै प्रतियोगिताको विजेता बनेको संसारी युवा क्लबले नगद ८० हजार रुपैयाँ सहित ३ वर्षे रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
हार सँगै उपविजेतामा चित्त बुझाएको जिरिखिम्ती रातोले नगद ४० हजार, कप मेडल र प्रमाण पत्र पाएको छ । महिला फुटबल प्रतियोगिताको उपाधि भने योङ स्पोटिङ क्लब मादी संखुवासभाले जितेको छ । उसले जुनेली युवा क्लब श्रीजुङलाई ट्राइवेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
उपाधिसगैँ मादीले नगद २० हजार, ३ वर्षे रनिङ ट्रफी हात पारेको छ । हारसँगै उपविजेता बनेको जुनेलीले नगद १० हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । खेलकुद र सांस्कृतिक कार्यक्रमहरु सहित मोराहाङमा माघे सक्रान्तिको अवसरमा चलिरहेको माघेनी मेला समेत आजबाट सकिएको आयोजक गौखुरी युवा क्लबका अध्यक्ष खगेन्द्रमणि सम्बाहाम्फेले बताउनुभयो ।