तेह्रथुम । आठराई गाउँपालिका-२, खाम्लालुङको कालिका आधारभूत विद्यालयको खेलमैदानमा डेढ लाख रुपैयाँ राशीको फुटबल प्रतियोगिता हुने भएको छ ।
गजेन्द्र इस्वोको स्मृतिमा वडा नं. २ कार्यालयले साता व्यापीरुपमा फुटबल प्रतियोगिता गर्न लागेको हो । गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले स्वर्गीय गजेन्द्र इस्वोको स्मृतिमा रनिङ कप फुटबल प्रतियोगिता गर्ने तयारी रहेको बताए ।
प्रतियोगिता माघ १७ गतेदेखि २३ गतेसम्म सन्चालन हुनेछ । फुटबल प्रतियोगितासँगै गाउँमा मेला सन्चालन हुनेछ ।
मेलामा खुला पुरुष तथा महिला फुटबल, धान नाच, संगिनी नाच, व्याडमिन्टन खेल साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
फुटबल प्रतियोगितामा विजेतालाई एक लाख ५० हजार रुपैयाँको साथमा ३ वर्षे रनिङ कप र उपविजेतालाई एक लाख रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था छ ।
त्यस्तै, महिला फुटबलतर्फ विजेतालाई ६० हजार नगदसहित ३ वर्षे रनिङ कप र उपविजेतालाई ४० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था छ ।
धान नाचतर्फ प्रथम पुरस्कार १० हजार रुपैयाँ छ भने सांस्कृतिक कार्यक्रमतर्फ प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार रुपैयाँ रहेको छ ।