काठमाडौं । प्रतिनिधिसभाका सभामुखका लागि बिहीबार मतदान हुँदैछ। त्यस सँगसँगै राष्ट्रपतिको उम्मेदवार को हुने भन्ने बहस पनि शुरु भएको छ।

सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार पहिलो कार्यकालको राष्ट्रपति एमालेका उम्मेदवार हुनुपर्छ। किनकि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री दिँदा राष्ट्रपति र सभामुखमा पहिले एमाले र पछि माओवादी केन्द्रलाई भागबण्डा गरिएको छ। अर्थात्, आगामी पाँच वर्षमा राष्ट्रपति र सभामुखका आधा–आधा कार्यकाल एमाले र माओवादी केन्द्रले भागबण्डा गर्ने सहमति छ।

पहिलो कार्यकालका लागि एमालेबाट राष्ट्रपतिको उम्मेदवार को होलान् ? अहिलेसम्म सार्वजनिक भएका नामहरूमा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको नाम अग्रपंक्तिमा थियो। तर, राष्ट्रपतिका उम्मेदवारका रूपमा अहिले एकाएक नयाँ नाम अगाडि आएको छ- वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल।

७६ वर्षीय पौडेल अहिले पार्टीको कुनै जिम्मेवारीमा छैनन्। किनकि, एमालेको विधानअनुसार ७० वर्ष नाघेका नेताहरू स्वतः अवकाश हुन्छन्।

अध्यक्ष केपी ओलीले पार्टीभित्र भावी राष्ट्रपतिको उम्मेदवारका रूपमा पौडेललाई अगाडि सारिसकेको पार्टीका एक उच्च नेताले जानकारी दिए। उनका अनुसार पौडेलले आफैं राष्ट्रपति हुने इच्छा देखाएका भने होइनन्। अध्यक्ष ओलीले नै उनलाई राष्ट्रपति उम्मेदवारका लागि तयारी गर्न टेलिफोनमार्फत आग्रह गरेका छन्।

र, पौडेल निकट स्रोतका अनुसार उनी शुक्रबार हेटौंडाबाट काठमाडौं आउँदै छन्।

उता, वर्तमान सरकारलाई विश्वासको मत दिएको कांग्रेसले पनि राष्ट्रपतिमा आफूले समर्थन गरेको उम्मेदवारलाई विजयी बनाउनुपर्ने माग गर्दै आएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बुधबार संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो पार्टीले समर्थन गरेको उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका छन्। तर, ती उम्मेदवार को हुन् भन्ने खुलाएका छैनन्।

एक एमाले स्थायी समिति सदस्यको भनाइमा डोरमणिलाई राष्ट्रपति उम्मेदवार बनाइए पार्टीभित्र विरोध हुने सम्भावना छ। किनकि, पार्टीभित्र र बाहिर सुवासचन्द्र नेम्बाङको नाम ज्यादा चर्चामा छ। नेम्बाङलाई नदिने भए वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति उम्मेदवार बनाइनुपर्ने एमालेभित्रको एकथरी समूहको माग देखिएको छ। ‘हुन त, केपी ओलीको के भर छ र !’ ती स्थायी कमिटी सदस्य भन्छन्, ‘सभामुख उम्मेदवारका रूपमा देवराज घिमिरेलाई हिजो मात्र एकाएक अगाडि सारिएको हो, अस्तिको दिनसम्म उनको चर्चा नै थिएन।’

तपाईको प्रतिक्रिया