तेह्रथुम । आठराई गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने गरी कानुन संशोधन गरेको छ । गाउँपालिकाको शनिबार बसेको १२ औँ अधिवेशन तथा गाउँसभा बैठकले गाउँपालिका क्षेत्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने गरी ऐनमा संशोधन गरेको हो ।

गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बाँस्कोटाले आधारभूत तथा माध्यमिक शिक्षा ऐनमा रहेका विभिन्न व्यवस्थाहरू संशोधन गरिएको बताए ।
‘माध्यमिक तहको शिक्षा स्थानीय तहको कार्यक्षेत्र हो । हामीले सामुदायिक विद्यालयको गुणस्तर सुधारकालागि विद्यालय व्यवस्थापन समितिको गठन, शिक्षकहरूको व्यवस्थापन र अनुगमन तथा मुल्यांकन प्रणालीमा सुधार गर्ने गरी ऐनमा संशोधन गरेका छौँ,’ उनले भने । गाउँसभाले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा पनि संशोधन गरेको छ ।

गाउँपालिकामा माध्यमिक तहको शिक्षा व्यवस्थापनका लागि गाउँपालिका अध्यक्षको अध्यक्षतामा गाउँ शिक्षा समिति रहने कानुनी व्यवस्था छ । जसअनुसार गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले अब गाउँपालिका क्षेत्रका विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन, अनुगमन र मुल्यांकनमा गाउँ शिक्षा समितिलाई शक्तिशाली बनाएका छन् ।

ऐनमा संशोधन भएपछि अब विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गाउँ शिक्षा समितिले तोकेको व्यक्ति हुनेछ भने विद्यालय शिक्षाको अनुगमन र मुल्यांकन प्रणाली थप मजबुद बनाइएको छ । यस्तै प्रकृतिको कानुनी व्यवस्था यसअघि म्याङलुङ नगरपालिका, छथर र मेन्छ्यायेम गाउँपालिकाले समेत बनाइसकेका छन् ।

ऐनमा नयाँ व्यवस्था गरेपछि अब विद्यालय व्यवस्थापन समितिमा शक्तिको आडमा हालीमुहाली गर्नेहरूलाई गाउँ शिक्षा समितिले पाखा लगाउन सक्ने भएको छ ।
‘विद्यालय व्यवस्थापन समितिमा चुनाव हुँदा कतिपय विद्यालयमा वर्षौसम्म समिति नै गठन हुन सकेनन् । कतिपयमा एउटै व्यक्तिले पटक–पटक अध्यक्ष भएर एकलौटी गरेको अवस्था छ,’ गाउँपालिकाका एक पदाधिकारीले भने, ‘ऐन संशोधन गरेर विद्यालय व्यवस्थापनमा देखिएका समस्याहरू समाधान गर्ने पहल लिएका छौँ ।’

 

 

तपाईको प्रतिक्रिया