तेह्रथुम । तेह्रथुम प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद दुर्गाप्रसाद चापागाईं प्रदेश सरकारको मन्त्री बनेका छन् । चापागाईंले शुक्रबार मन्त्रीको शपथ लिए । मन्त्रालय भने तोकिएको छैन ।
०७० मा संविधानसभा सदस्य निर्वाचनमा तेह्रथुमबाट उम्मेदवार बनेका चापागाईं यसपटक प्रदेशसभा सदस्य निर्वाचित भए । पहिलो पटक चुनाव जितेर संसदीय राजनीतिमा प्रवेश गरेका ४० वर्षीय चापागाईं पहिलो पटकमै मन्त्री बनेका छन् । जिल्लामा संगठनको हिसावले माओवादी केन्द्र तेस्रो दल हो । तर, युवा उमेरमै चुनाव जितेर राजकीय जिम्मेवारी पाएका चापागाईंको लागि जिल्लाको राजनीतिमा नयाँ शिराबाट संगठन गर्ने र राजनीतिक नेतृत्वमा उदय गर्ने सुनौलो मौका मिलेको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका चापागाईंले नेकपा एमालेका जिल्ला अध्यक्ष एवम् पूर्व प्रदेशसभा सदस्य तेजमान कन्दङ्वालाई पराजित गर्दै प्रदेशसभा सदस्य बनेका थिए । उनी निर्वाचित भएको क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो समेत हो । गएको निर्वाचनमा यो क्षेत्रबाट एमालेले नै जितेको थियो । तर, यसपटक भने चापागाईंले नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव जिते ।
आठराई गाउँपालिकाको छातेढुंगामा ०३९ सालमा बुवा लक्ष्मीप्रसाद चापागाईं र आमा खिनामाया चापागाईंको कोखबाट जन्मिएका चापागाईंले यहीको पोखरी मावि र तेह्रथुम बहुमुखी क्याम्पसबाट पढाई पूरा गरेका हुन् ।
१७ वर्षमै शशस्त्र जनयुद्धमा समावेश भएका चापागाईं विद्यार्थी उमेरदेखि नै माओवादी केन्द्रको संगठन निर्माणमा सहभागी भए । त्यसयता जिल्लामै रहेर निरन्तर राजनीति गरिरहेका चापागाईं नै जिल्लामा माओवादीका संगठक हुन् ।
उनी ०५१ सालमा अनेरास्ववियुको प्रारम्भिक इकाइ कमिटी सदस्य बनेका थिए । ०५४ मा अनेरास्ववियु पाचौं इलाका कमिटीको सहसचिव, ०५६ मा अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई समितिको अध्यक्ष तथा जिल्ला सदस्य हुँदै उनी ०५७ मा अनेरास्ववियु (क्रान्तिकारी) को जिल्ला अध्यक्ष नै भए । ०६० मा उनी अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रिय समिति सदस्य र ०६१ मा जनमुक्ति सेना नेपालको कम्पनी कमिस्नर भएर काम गरे ।
०५७ मा नेकपा माओवादी केन्द्रको सदस्यता लिएका उनले तत्कालै एरिया कमिटी सदस्यको जिम्मेवारी पाएका थिए । उनी ०५८ मै माओवादीको जिल्ला कमिटी सदस्य र एरिया सेक्रेटरी भए । ०६१ मा मेची–कोशी क्षेत्रीय व्युरो सदस्य भए । ०६२ मा कोशी उप–व्युरो कार्यालय सचिव हुँदै ०६३ मा पार्टीको जिल्ला सेक्रेटरी भए ।
०६७ मा तत्कालिन एकिकृत नेकपा (माओवादी) को जिल्ला इन्चार्ज बनेका उनी ०७० मा माओवादीबाटै संविधानसभा सदस्यको उम्मेदवार थिए । ०७१ मा उनी फेरि पार्टीको जिल्ला अध्यक्ष नै चयन भए । उनले ०७२ मा पार्टीको केन्द्रिय सदस्य, पोलिटव्युरो सदस्य र जिल्ला इन्चार्जको समेत जिम्मेवारी पाए ।
०७५ मा माओवादी र नेकपा एमालेबीच पार्टी एकीकरण हुँदा पनि उनी नेकपाको केन्द्रीय सदस्य र जिल्ला सहइन्चार्ज भए । माओवादीमा उनी तेह्रथुममा संगठन निर्माणको जग बसाल्ने नेताकोरुपमा चिनिन्छन् ।
केन्द्रीय अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसँग राम्रो सम्बन्ध बनाएका उनी उपमहासचिव वर्षमान पुन निकट हुन् । पुन ऊर्जामन्त्री हुँदा चापागाईं उनको स्वकीय सचिव भएरै काम गरेका थिए । त्यसबेला जिल्लामा उज्यालो तेह्रथुमको अभियान चलाएका चापागाईंले जिल्लामा विकासप्रेमी नेताको छवि बनाएका छन् ।
‘म १७ वर्षमै जनयुद्वमा समावेश भएँ । त्यो घडी सम्झिँदा मन भक्कानिन्छ । मैले आफ्नै आँखा अगाडि श्रीमती गुमाएँ, तेह्रथुम जिल्लाबाटमात्रै ५८ जना साथीहरुलाई गुमाउनुप¥यो, जसको बलिदानले आज देशमा यो व्यवस्था स्थापित भएको छ,’ उनी भन्छन्, ‘म त्यो बलिदानलाई खेर जाने दिने छैन ।’
चापागाईं मन्त्री बनेपछि उनको क्षेत्रमा खुसीयाली छाएको छ । केन्द्रमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुटेर सरकार गठनमा एमाले र माओवादी केन्द्रको गठबन्धन बनेको छ । तर, निर्वाचन क्षेत्रमा कांग्रेससँगको गठबन्धनबाट चुनाव जितेका चापागाईं मन्त्री बन्दा उनको क्षेत्रका कांग्रेसजन्मा समेत खुसीयाली छाएको छ ।
उनी मन्त्री बनेको खुसीयालीमा बधाई ज्ञापन गर्न उनको क्षेत्रका कांग्रेसका नेताहरु समेत विराटनगर पुगेका छन् ।
शुक्रबार उनले विराटनगरमा प्रदेश प्रमुखबाट शपथ लिँदै गर्दा आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, फेदाप गाउँपालिकाका अध्यक्ष केशव भेटुवाल लगायत कांग्रेस नेताहरु पनि विराटनगर पुगेका थिए । क्षेत्रका बासिन्दाले उनीप्रति विकासको ठुलो आशा देखाएका छन् ।