काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिए । दाहालले विश्वासको मतको प्रस्ताव राखेपछि बैठकमा पुर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपाल लगायत संसद्मा विगतदेखि देखिदै र सुनिदै आएका अनुहारहरु नै रोष्टममा उभिएर बोले । तर मंगलबारको प्रतिनिधिसभा बैठकमा रोष्टममा एउटा नयाँ अनुहार उभियो- चौंथो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गरेर ।
उनी थिए- ३९ वर्षे सन्तोष परियार । गृहमन्त्री रवि लामिछाने नेतृत्वको पार्टीबाट प्रतिनिधिसभा सदस्य बनेका नेता परियार मंगलबारको प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा बोल्ने दर्जन नेताहरुमध्ये मात्रै थिएनन् । नेपाली राजनीतिमा न्यून प्रतिनिधित्व रहेको दलित समुदायबाट संघर्षपूर्ण यात्रा पार गरेर राजनीतिमा आएका उनी सम्भवत: संसद्मा त्यो भूमिका पाउने पहिलो दलित नेता हुन् ।
सांसद हुनुअघि सामाजिक अभियानमा सक्रिय रहेका परियार काठमाडौंको रत्न राज्य क्याम्पसमा राजनीतिशास्त्र र के एण्ड के कलेजमा ‘जेन्डर स्टडिज’ पढाउँछन् ।
गत ४ मंसिरको आमनिर्वाचनको परिणामले उनको चिनारीमा ‘माननीय’ पनि थपिदिएको हो । ‘क्याजुअल ड्रेस’मा मार्कर लिएर कक्षाकोठहरु खटिरहेका उनी अब माननीयको लोगोवाला कोटमा संसद्मा देखिनेछन् ।
‘मेरो पेशा चाहिँ शिक्षण नै हो’, परियार भन्छन्, ‘राजनीति गर्ने हरेकको पालिने पेशा-व्यवसाय हुनुपर्छ भन्ने मेरो मान्यता हो । मेरा लागि सांसदको भूमिका भनेको जनता र देशको सेवा हो ।’ जनताको सेवा गर्न स्वेच्छाले रोजेको राजनीतिमा एकचोटी पसेपछि कहिल्यै ननिस्कने प्रवृत्ति गलत भएको उनको विचार छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले भुँइमान्छेका कुरा उठाए । राज्यको अर्थ र राज्य हुनुले सीमान्तकृत समुदायलाई कति महत्व राख्छ ? मंगलबार पहिलो पटक रोष्टममा उभिएर बोलिरहेका उनले साधारण भाषामा पेचिलो धक्का दिए ।
संघर्षपूर्ण विगत
सूर्यविनायक–७, भक्तपुरका रामबहादुर परियार नेपाली समाजमा कायम जातीय विभेदको भुक्तभोगी थिए । नेपाली सेनामा काम गरेका उनले आफ्ना सन्तानलाई त्यस्तो सामाजिक विभेदबाट जोगाउन शिक्षामा जोड दिए । उनले छोराछोरीलाई सानैबाट स्कुल जान र रेडियो नेपालको बाल कार्यक्रम सुन्न अनिवार्य गरेका थिए ।
‘पढेर हाकिम भए मात्र यो समाजमा अपहेलित हुन पर्दैन भन्ने लाग्थ्यो बुबालाई’, सन्तोष भन्छन्, ‘लुगा सिउने, बाजा बजाउने पुर्ख्यौली पेसालाई हामी अपहेलित हुनपर्ने एउटा कारण मान्ने हुनाले हामीलाई त्यो काममा जहिल्यै निरुत्साहित गर्नुभयो ।’
नभन्दै, छोराछोरी पनि बुबाआमाले देखाएको बाटोभन्दा बाहिर गएनन् । लगालग पढेर पूर्वाञ्चाल विश्वविद्यालयबाट आम सञ्चारमा स्नातक भएपछि सन्तोष ‘द्वन्द्व, शान्ति र विकास’ बिषयमा स्नातकोत्तर गर्न श्रीलंकाको रुहुना विश्वविद्यालय गए ।
त्यो अवसरका लागि मानवशास्त्री सौभाग्यजंग शाह (२०६६ सालमा दिवंगत)प्रति औधी अनुगृहित छन् उनी । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक शाह नभएको भए आफूले नेपालमै पढ्ने वा जागिरको खोजीमा लाग्नुपर्ने अवस्था हुने उनी बताउँछन् ।
‘प्रवेश परीक्षा पास भएपनि पैसाको अभावले बन्द भएको श्रीलंकाको ढोका सौभाग्य सरकै जोडबलले खोलियो’, सन्तोष भन्छन्, ‘आज म जहाँ छु, उहाँकै कारण छु ।’
रुहुनाबाट स्नातकोत्तर गरेपछि उनले जर्मनीमा ‘न्यायिक विश्वव्यापीकरण’ विषयमा अध्ययन गर्ने अवसर पाए । ‘विश्वव्यापीकरण रोक्न सकिदैंन, तर यसको न्यायिक वितरण कसरी गर्ने भन्ने विषय पढेँ,’ सन्तोष सुनाउँछन् ।
सन् २०१३ मा जर्मनीबाट फर्केपछि उनले के एण्ड के कलेजमा पढाउन थाले । त्योसंगै सार्वजनिक सरोकारका बिषयहरुमा चासो राख्ने, सञ्चार माध्यमहरुमा लेख रचना पनि प्रकाशित गर्न थाले ।
२०७७ वैशाखमा रुकुममा ६ युवकको ज्यान जानेगरी भएको घटनाले भने सन्तोषलाई भित्रैदेखि हल्लायो । त्यसलाई जातीय विभेदको नृशंस घटनाका रुपमा अर्थ्याउँदै सन्तोष सुनाउँछन्, ‘त्यो घटनाले सडकमै आएर न्यायको आवाज उठाउन बाध्य बनायो । दलितको देश कुन हो ? भनेर लेखें, बोलेँ ।’
पहिलो प्रयासमै राजनीतिक सफलता
०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पनि उनी संविधानको बचाउमा ‘बृहत नागरिक आन्दोलन’को व्यानरमा सडकमा थिए । भाषा आन्दोलन, सडक विस्तार पीडित, जातिय विभेदको शिकार भएकी रुपा सुनार लगायतका पक्षमा उनले सडकबाट आवाज उठाए ।
त्योबेलासम्म उनलाई दलीय राजनीति गरुँला भन्ने थिएन । अध्यापन र बेलाबेलाको सामाजिक अभियानमै दत्तचित्त थिए । आमनिर्वाचन नजिकिएपछि भने उनी रवि लामिछानेले ल्याएको माहोलमा तानिए, जसबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जन्मियो ।
‘अर्थशास्त्रीद्वय डा. स्वर्णिम वाग्ले र डा. विश्व पौडेल समेत नेपाली कांग्रेसको प्रत्यक्ष राजनीतिमा आउने भएपछि मलाई पनि राजनीतिमा होमिनुपर्छ भन्ने लाग्यो,’ सन्तोष भन्छन्, ‘महिला, दलित, मधेशी लगायत सिमान्तकृतहरु नीतिनिर्माण तहमा नपुग्दासम्म सही अर्थमा सामाजिक न्यायको अभ्यास हुन नसक्ने बुझाइले पनि प्रत्यक्षमा राजनीतिमा आएँ ।’
पार्टीले पनि समानुपातिकतर्फको सूचीमा नै राखेपछि सन्तोष एकै पटक चुनाव प्रचार–प्रसारमा लागे अनि पहिलो झमट्मै साँसद बने । ‘सडकमा बोल्दा राज्यले नसुनेको बिषय नै अब संसदमा उठाउने हो’, सन्तोष भन्छन् ।
मन्त्री बन्नेहरुको नामका बारेमा पनि रास्वपाभित्र छलफल चलिरहेकै छ । त्यो निर्णय पार्टीले गर्ने बताउँदै सन्तोष भन्छन्, पार्टीले बोकेको मुद्दा अनुसारको क्षमता र समावेशितालाई पनि ख्याल गरेर मन्त्री बनाउने निर्णय हुन्छ होला ।’
साभार – अनलाइनखबर ।