प्रकाश पाक्साँवा,

सुखिम (सिक्किम) ठाउँको नाम सुन्ने बित्तिक्कै जो कोहीको मन फुरुङ्ग हुन्छ । पर्यटकीयरुपमा नाम चलेका शहरमध्येमा पर्छ सुखिम ।

पहाडी भुगोलको सुखिम लाखौँको सपनाको गन्तव्य हो । जीवनकालमा एकपटक सुखिम घुमौँ भन्ने धेरैको रुची रहेको पाइन्छ । यात्रा गर्नलाई कुनै न कुनै अवसर जुर्नै पर्छ भन्ने छैन । तर मलाई भने लिम्बुहरुको पर्व चासोक तङ्नामले जुराइदियो । विगत बर्ष देखि नै जाने मन भएपनि स्वास्थ्य अवस्थाले सकिरहेको थिइनँ । यसपटक भने अवसर जुर्‍यो । तेह्रथुमबाट हामी केही पत्रकार र कलाकारको एउटा टोली सुखिम पुगेर फर्कियौँ । यात्राका केही भोगाई र अनुभूतिहरू यहाँ समेट्दैछु ।

हाम्रो टोलीमा कलाकार तथा पत्रकार टीआर सेनेहाङ, नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत बास्तोला, लिम्बु भाषा संस्कृतिका अभियन्ता एवम् नेता टेकराज तिगेला र म थियौँ । सिक्किमको रानीपुलमा आयोजना भएको सातौँ सुखिम चासोक तङनाम विशेष कार्यक्रम हाम्रो मुख्य गन्तव्य थियो । तर, त्यही मौकामा हामीलाई सिक्किमको जीवनशैलीदेखि धार्मिक सांस्कृतिक र पर्यटकीय गन्तव्यहरू पनि भ्रमण गर्नु थियो ।

यात्रामा हामीले सिक्किम राज्यको राजधानी ग्यान्टोक, रानीपुल, धाँक्री फल्स, हनुमान टक, गणेश टक, भुतघर, फुस्रेपोखरी, आरिटार, निर्मांणधिन विश्वकै ठुलो युमा माङहिम, रिनोक बजार, पाक्युङ, रम्फोबजार, रोडाथाङ बजार मुलुके मात्र नभई वेस्ट बंगालको कालेपोङ बजार, डेलो पार्क लगायत दर्जन बढी ठाउँहरुको अवलोकन गर्ने मौका मिल्यो । यात्रामा केही खोज्नुथियो, केही नयाँ गन्तव्यमा रमाउनु थियो । हामी रमायौँ, केही देख्यौँ, केही सिक्यौँ र फर्कियौँ ।

हिमालयको उच्च पर्वत शृङ्खलाहरूले सिक्किमलाई उत्तरी, पूर्वी र पश्चिमी दिशा अर्धचन्द्रमा घेरेको रहेछ । राज्यको अत्यधिक जनसङ्ख्या भएको क्षेत्र धेरैजसो राज्यको दक्षिणी भागमा, हिमालयको कम ऊँचाई भएको शृङ्खलाहरूमा रहेछ । सिक्किममात्रै २८ हिमशिखर, २१ हिमानी, २२७ ताल, छाँगु पोखरी, गुरुडोंग्मार पोखरी र खेचिपेरी पोखरी जस्ता प्राकृतिक सम्पदाहरू रहेछन् । पाँच तातो पानीको छहरा र सय भन्दा धेरै नदी र खोलाहरू । आठ पहाडी भञ्ज्याङहरूले सिक्किमलाई तिब्बत, भुटान र नेपालसँग जोडेका रहेछन् ।

सिक्किम जाने टोलीका हामी पहिलो दिन धरान पुगेर बास बस्यौँ । हाम्रो यात्राको साथी थियो, मोटरसाइकल । भानुचोकबाट अघि बढ्दा म टेकराज बाजेको पछि बसेँ, अमृतजी र टीआरजी अर्कोमा ।

मेरोलागि नेपालबाहिरको यात्रा पहिलो थियो । मोटर साइकलबाहेक चढेर यात्रा गर्न नसक्ने मेरो लागि यो यात्रा निकै सहज भयो । मलाई लिन सिक्किमबाट विर्तामोडसम्म दिपेश राई आउनुभएछ । हामी मोटर साइकलमै नेपाल छोडेर सिक्किमतिर हुँइकियौँ ।

नेपाल छोडेपछि हामी नेपालसँग सम्पर्कविहीन भयौँ, विष्णुकला राईले उताबाट सिम पठाइदिनुभएको रहेछ, त्यही राखेर सम्पर्क गर्दै अघि बढियो । करिब दुई घण्टाको यात्रापछि रेल वे मा पुगेर थकानसँगै भोक मेटायौँ । त्यसपछि तराईको समथर भु–भागको यात्रा टुगिंयो, हामी टिष्टा नदीको किनार हुँदै उकालो चढ्यौँ । बाटोभरि सवारी साधनको चापसँगै सुन्दर र मनमोहक दृष्य अवलोकनले मनमा खुशी छाईरहेको थियो । हामी सिक्किम प्रवेश गर्न नाका रम्फु पुग्यौँ । रम्फुमा केबी सुब्बा दाजुसँग भेट भयो ।

उहाँसँगै दिलमाया दिदीसँग चिनजान भयो । उहाँहरूको सामीप्यताले विरानो ठाउँ भएपनि आफ्नै लागि रहेको थियो । कारण करिब ६ महिना अघि मात्रै सिक्किमबाट देबेन्द्र सुब्बा र नियारा सुब्बा लगायत १५ जनाको टोली माङगेना यात्रा आउँदा चिनजान भएको थियो । हामी ग्यान्टोकको रानीपुलमा करिब ६ बजे पुग्यौँ, र साथीहरु पनि केही समयपछि आइपुग्नुभयो । हाम्रो दोश्रो दिनबाट सिक्किमको बास सुरु भयो ।

तेश्रो दिन नियारा प्रोडक्सनले आयोजना गरेको सातौँ सुखिम चासोक तङनाम कार्यक्रममा न्यानो स्वागत ग्रहण गरियो । आयोजकको न्यानो माया र आतिथ्यता एकातिर, अनि लिम्बु समुदायको मौलिक संस्कृतिलाई अध्यायन र अवलोकन । यसपालिको चासोक तङ्नाम निकै खास रह्यो । चासोक तङनाम विशेष कार्यक्रममा हाम्रो टोली नेता टीआर सेनेहाङलाई आयोजकले सम्मानपत्रसहित सम्मान पनि गरेको थियो । धान नाच, च्याब्रङ नाच, लिम्बु संस्कृतिका अधिकतम अभ्यासहरूमा झुमियो, त्यहाँ । त्यही कार्यक्रममा भ्वाइस अफ किड्सका रुक्साना लिम्बु र पालाम गायिका सुनिता केदेमले संगीतमय बनाउनुभयो, तेस्रो दिनको बितेको पत्तै भएन ।

अर्को दिन, चियाको चुस्कीसँगै रानिपुल बजार घुम्दै खानापछि हामी कार्यक्रम स्थलतिर पुग्यौँ । च्याब्रङ आवाजसँगै लिम्बु कला संस्कृतिहरू गुन्जायमान थिए । अझ रोचक कृरा त संयोगवस सिक्किमका सञ्चारकर्मी र नेपालबाट गएका हामी लठ्ठा तान्ने प्रतियोगितामा सहभागी भइयो । नेपाल सिक्किमका सञ्चारकर्मीको टोली सेमीफाइनलसम्म पुगेका थियौँ ।

त्यो बेलुकी देवेन्द्र सुब्बा, केबी सुब्बा लगायतसँग भेटघाट भयो, धान नाचियो । पालाम गाइयो । छिपिँदो रातमा उहाँहरूसँग बितेको समय पत्तै भएन ।
पाँचौँदिन हामीले रानीपुल छाड्यौँ । आयोजकले दिएको सम्मान अविस्मरणीय छ । हामीलाई लिन महेश खेवा र विष्णुकला आउनुभयो । त्यसपछि हाम्रो टोली अन्य गन्तव्यहरूमा अघि बढ्यो ।

हामी धाँझी फल्स हुँदै धार्मिकस्थल हनुमान टक, गणेशटक, भुतघर हुँदै सुन्दर नगरी ग्यान्टोकको एमजी रोडको दृश्यमा रमायौँ । रानीपुल, पाक्योङ, रोडाथाङ हुँदै मुलुके पुग्यौँ । बेलुका देवेन्द्र सुब्बाको निवासमा न्यानो स्वागत पायौँ, त्यही कटायौँ त्यो रात ।

अर्को दिन बनभोजमा रमाइयो । बनभोज रम्फु र रंगेली खोलाको दोभानमा थियो । खोलाको ताजा माछासँग भोजन । निकै खास रह्यो । त्यहाँको गाउँ गाउँमा सडक पुगेको, तर सार्वजानिक बसहरू भने कमै देखिन्थ्यो । नेपाल जस्तो धुवाँ फाल्ने सवारी साधान त झन त्यहाँको सरकारले अनुमति नदिँदो रहेछ । मोटरसाइकल पनि बिरलै देखिए । साना कारहरू भने धेरै देखिन्थे ।

‘म १५ वर्ष ढिलो भएछु, पहिले आएको भए फर्किन्नँ थिएँ होला,’ टेकराज बाजेले सिक्किमको भुगोल र प्रकृतिप्रति उत्साहित भएर भन्नुभएको थियो । उहाँको ठट्यौली बोली र शैलीले यात्रामा रस थपेको थियो । यात्राभर हामी लिम्बु संस्कृतिमा रमायौँ, हाम्रो टोलीमा अमृतजी हुनुहुन्थ्यो, गैरलिम्बु । उहाँले लिम्बु संस्कृतिलाई नजिकबाट देखेकै हुनुहुन्थ्यो, यसपटक अलि नजिकबाटै भोग्दैहुनुहुन्थ्यो । हामी मुलुके पुग्यौँ । साँझमा दिलमाया दिदीको घरमा खानपिनको लागि हामीलाई स्वागत गरियो । दिदीको घरमा खानपिन प्रश्चात् त्यो रात बस्यौँ । यात्राअघि सुखिमप्रतिको बुझाइ र अपेक्षा जे थियो, यात्राकोक्रममा ठिक बिपरीत पाइरहेको थिएँ ।

आठौँ दिन हामी सुखिमभन्दा टाढा वेस्ट बंगालको कालेम्पोङ बजार, डेलो पार्क लगायतका ठाउँहरू घुम्यौँ । सिक्किमका दर्जनाँ स्थान र वेस्ट बंगालको केही स्थानहरु अध्ययन अवलोकनसँगै हाम्रो बसाई छोटिँदै गएको थियो । नवाँै दिन हामी विश्वमा नै ठुलो युमा माङहिम बनाउने उदेश्यका साथ निर्माण हुँदै गरेको मुलुकेमा रहेको माङहिम पुग्यौँ । देबेन्द्र सुब्बा हामीसँग हुनुहुन्थ्यो ।

माङहिममा पनि नेपाली टोलीलाई विशेष स्वागत भयो । हामी गाउँ पञ्चायतको कार्यालय पुग्ने मौका पायौँ । बिहानीको खाना केबी दाजुको घरमा भयो । साँझतिर रिनोक बजारमा रमाइयो । यी समय बिताउँदै गर्दा हामीले सिक्किममा भएको विकासलाई थोरै भएपनि अध्ययन गर्ने मौका पायौँ । हामी पुगेका पर्यटकीय तथा धार्मिक स्थलहरुको महत्व र विशेषताहरु बुझ्ने अवसर पायौँ । टिष्टालाई सिक्किमको जीवन रेखाको रुपमा लिइने रहेछ । त्यहाँबाट उत्पादित जलविद्युत सिक्किमको मेरुदण्ड नै बनेको रहेछ । अर्को दिन हामी नेपाल फर्कियौँ । दस दिनसम्मको सिक्किम यात्रा निकै अविस्मरणीय रह्यो ।

तपाईको प्रतिक्रिया