हिजोसम्म विश्व फुटबलको सर्वोत्कृष्ट खेलाडी ‘को’ थियो भन्ने प्रश्न सुन्ने बितिक्कै सबैको मस्तिष्कमा दुई नाम आउँथ्यो,‘डिएगो म्यारोडाना र पेले’ । तर, पुस ३ गते कतारको लुसेल रंगशालाबाट विश्वकपमा अर्जेन्टिना च्याम्पियन बनेसँगै उत्तर फेरिएको छ। अर्जेन्टिनाको उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी को भन्ने प्रश्नको उत्तरमा निसन्देह मात्र एक नाम पनि।

सात पटकका बालोन ‘डी’ओर विजेता लियोनेल मेस्सी आफ्नो फुटबल करियरमा कयौँ उपाधिहरू जितेका थिए। तर, पेले र म्याराडोनासँगै राखेर ‘अहिलेसम्मकै महान् खेलाडी को ?’ भन्ने प्रश्न आउँदा सधैँभरि उनीमाथि एउटै प्रश्न सोझिन्थ्यो – मेस्सीले अर्जेन्टिनालाई विश्व फुटबलको सर्वोच्च उपाधि दिलाएको खै ? आज मेस्सीले सो प्रश्नको उत्तर पनि दिएका छन्।

अनि अर्को हो, अर्जेन्टिनाले विश्वकप जितेसँगै लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै महान खेलाडीको रूपमा आफूलाई उभ्याएका छन्। किनभने रोनाल्डोले विश्वकप जित्न सकेनन्।

रोनाल्डोले युरोकप र नेसन्स लिग जितेका छन्। मेस्सीले कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई दिलाएका छन्। देशहरूमा यी दुई मध्ये को महान खेलाडी भन्ने लडाइ अब यो विश्वकप फाइनलसँगै टुंगिएको छ।

किनभने मेस्सीले यस पटकको विश्वकपको उपाधि जित्तै उनले रोनाल्डोभन्दा आफू महान खेलाडी भनेर प्रमाणित गरेका छन्। वर्तमान विश्वमा रोनाल्डो र मेस्सी नै सबैभन्दा उत्कृष्ट फुटबलर हुन्।

उनीहरूलाई पेले र म्यारोडोनासँग दाँज्ने गरिन्छ। फुटबलको पहिलो र पुरानो पुस्तामा पेले ब्राजिलका भए पनि विश्वमै सबैभन्दा धेरै चर्चित छन्। म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप जिताएर जति चर्चित छन्, उनी गोल, फुटबल र विवादका कारण पनि त्यत्तिकै चर्चामा रहने गर्थे।

तर अहिले म्याराडोना यो संसारमा छैनन्। पेलेले तीन पटक विश्वकप जितेका छन्। म्यारोडोनाले दुई पटक विश्वकप ट्रफी जितेका छन्। तर मेस्सी र रोनाल्डोले एक पटक पनि देशका लागि विश्वकप जित्न नसक्दा उनीहरूलाई महान खेलाडी मानिँदैन थियो। स्वयंम पेले र म्यारोडोनाले पनि उनीहरूलाई मनैदेखि महान भन्न रुचाउँदैनन्।

तर यसपटक मेस्सीले विश्वकप जितसँगै उनी सर्वकालीन महान खेलाडी भएका छन्। त्यसमा पनि पेले, म्यारोडोनापछिकै सर्वकालीन महान खेलाडी। यस पटकको विश्वकपमा आफ्नो जादू मैदानमा देखाएर ट्रफी उचाल्दै, मेस्सीले सबै किसिमका सफलता र उपाधि हात पारेका छन्।

विश्वकपको उपाधिसँगै लामो समयअघि देखि चलिरहेको एउटा विवादको पनि अन्त्य भएको छ। विश्वकपको उपाधि बिना मेस्सी महान खेलाडीको सुचीमा दर्ज हुन सक्छन् वा सक्दैनन् ? भन्ने लामो बहस थियो। अब मेस्सीले करियरको उत्तरार्धमा उक्त बहसको पनि अन्त्य गरिदिएका छन्। समर्थक तथा फुटबल पण्डितहरू अब भन्न थालेका छन्,–सर्वकालिन महान खेलाडीको सुचीमा मेसीको नाम थपियो।

तर, मेसीलाई मन नपराउनेहरू अझै पनि यस तथ्यलाई स्वीकार्न आनाकानी गरिरहेका छन्। त्यसकारण यो बहस सकिन अझै केही समय लाग्ला। तर, ‘लिटिल म्याजिसियन’ को उपमा पाएका मेसीको यो उपाधिसम्मको यात्रालाई फर्केर हेर्ने हो भने कुनै फिल्मको कहानी भन्दा कम लाग्दैन।

मेस्सीले गरेको त्यो गलत निर्णय

सन् २०१४ को विश्वकप तथा २०१५ र २०१६ मा सम्पन्न कोपा अमेरिका। यी तीनै प्रतियोगितामा मेस्सीले आफ्नो टिम अर्जेन्टिनालाई फाइनलसम्म डोहोर्याएका थिए। तर, मेस्सी र अर्जेन्टिनाको टिमले यी तीनमध्ये कुनै पनि प्रतियोगितामा उपाधि जित्न सकेन।

यसअघि सन् २००७ को कोपा अमेरिकामा पनि अर्जेन्टिना फाइनलमा ब्राजिलसँग ३–० ले पराजित भएको थियो। अर्थात् २०१६ सम्म मेस्सी र अर्जेन्टिनाले विभिन्न चार प्रतियोगिताको फाइनल खेल्दा, एउटाको पनि उपाधि जित्न सकेको थिएन।

अर्जेन्टिना २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग अनि कोपा अमेरिकामा दुवै पटक चिलीसँग फाइनलमा पराजित भएको थियो। यी तीन मध्ये दुईमा मेस्सी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

ब्राजिलमा भएको २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएर विश्वकपको उपाधिबाट वञ्चित भएको थियो। हारका बावजुद मेस्सी विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भए। त्यसबेला अर्जेन्टिनाले २४ वर्षपछि विश्वकपको फाइनलसम्मको यात्रा तय गरेको थियो।

त्यसपछि मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधिका लागि अर्को मौका पाए, २०१५ को कोपा अमेरिकामा। चिलीमा सम्पन्न प्रतियोगिताको पनि फाइनलमा पुगेको थियो, अर्जेन्टिना। तर, त्यहाँपनि मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले निराशामात्र हात पा¥यो।

फाइनलमा अर्जेन्टिना घरेलु टिम चिलीसँग पेनाल्टी सुटआउटमा ४–१ ले पराजित भयो। पेनाल्टीमा अर्जेन्टिनाबाट मेसीले मात्र गोल गरे। हारको बावजुद अर्जेन्टिनी कप्तान मेसी नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।

त्यसको अर्को वर्ष १०० वर्ष पुगेको उपलक्ष्यमा अमेरिकामा कोपा अमेरिकाको आयोजना भयो। यसमा पनि अर्जेन्टिनाले फाइलनसम्मको यात्रा तय ग¥यो। तर, अर्जेन्टिनाले फाइनल खेलको ‘डेडलक’ यो खेलमा पनि तोड्न सकेन। पुनः एक पटक चिली नै फाइनलमा बाधक बन्दा अर्जेन्टिना उपविजेतामा नै रोकियो।

फाइनलमा चिलीले त्यसपटक पनि पेनाल्टीमै ४–२ ले बाजी मार्यो। तर, २०१५ भन्दा यस संस्करणको फाइनल परिदृश्य बेग्लै थियो। अर्जेन्टिनाबाट पहिलो पेनाल्टीका लागि आएका मेस्सीको प्रहार आकासियो। मेस्सीबाहेक अर्जेन्टिनाका लुकास बिग्लियाको प्रहार पनि गोल हुन नसक्दा अर्जेन्टिना चिलीसँग ४–२ ले स्तब्ध बन्यो।

चिलीविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपछि मेस्सी अर्जेन्टिनी समर्थकबीच एकाएक ‘भिलेन’बने। यसअघि उपाधि जित्न नसकेको भन्दै मेसीप्रति निराशा व्यक्त गर्ने अर्जेन्टिनीसँगै विश्वभरका समर्थक मेस्सीको चर्को आलोचनामा उत्रिन थाले। अर्जेन्टिनाका शहरहरूमा मेस्सीको जर्सीमा आगो लगाइयो। पुत्ला जलाइयो। रोसारियोमा रहेको उनको घर अगाडी चर्को प्रदर्शन गरियो। अर्जेन्टिनामा उनको प्रतिमा तोड्फोड भयो।

समर्थकहरूले मेस्सीलाई अर्जेन्टिनाको राष्ट्रिय गानसमेत नआउने र यसैकारण उनी खेल सुरु हुनु पहिले बज्ने राष्ट्रिय धुनमा मौन रहने गरेको आरोपसमेत लगाए। मेस्सीजस्तो ‘लुजर’लाई अर्जेन्टिनाका सर्वकालिन महान् खेलाडी डियागो म्याराडोनासँग दाँज्नै नमिल्ने टिप्पणी आउन थाले।

‘मेस्सी मैदानभित्र हिँड्छन्। उनलाई म्याराडोनासँग तुलना गर्नै सकिँदैन। उनलाई अर्जेन्टिनासँग कुनै मतलब छैन। उनी एक लुजर हुन्। मेसी निकै अल्छी छन् र झुटो पनि,’ हारपछि समर्थकको प्रतिक्रिया यस्तो थियो। र, यो त्यसबेला अधिकांश समर्थकबाट मेस्सीप्रति आएको नकारात्मक प्रतिक्रियाको नमुना थियो।

समग्रमा चार र आफ्नो कप्तानीमा लगातार तीन प्रतियोगिताको फाइनलमा हारेपछि मेस्सीको पनि धैर्यको बाध टुट्यो। सन् २०१६ जुन २७ मा मेस्सीले अप्रत्यासित रूपमा २९ वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे।

‘मेरो लागि, राष्ट्रिय टिमसँगको यात्रा समाप्त भएको छ। मैले आफूले सक्दो प्रयास गरे। अब म थाकिसके। मैले जित्न नसकेको यो चौथो फाइनल हो। मैले आफूले गर्न सक्ने जति सबै गरे। यो कुराले मलाई सबैभन्दा धेरै पीडा दिन्छ। यो हारले अन्तर्राष्ट्रिय उपाधि मेरो लागि बनेको हैन भन्ने देखाउँछ,’ २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग हारेपछि मेसीले यस्तो प्रतिक्रिया दिएका थिए।

मेस्सीको यो अकल्पनीय निर्णयले टिमका खेलाडी र अर्जेन्टिनी मात्रै स्तब्ध बनेनन् विश्वभरिका जो फुटबललाई पछ्याइरहन्छन्, सबै अचम्मित बने ।

यता, सोही वर्ष मेसीका चिरप्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरो २०१६ को उपाधि जित्नुले मेसीमाथि झनै दबाब थपिदियो। रोनाल्डोले पोर्चुगलबाट युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा मेस्सी चार फाइनल खेल्दा पनि अझै अन्तर्राष्ट्रिय उपाधिविहीन रहेको भन्दै समर्थकबाट मेस्सीले पुनः ‘फेलियर’को उपमा पाए। इतिहासले मेस्सीलाई ‘हरुवा’ को नामले चिन्नेछ भन्दै नारा बज्न लाग्यो।

संन्यास फिर्ता लिने निर्णय सहि साबित

सन् २०१६ जून २६, अर्थात् आजभन्दा ६ वर्षअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी त्यो बेला गलत थिए। अर्थात् उनको निर्णय गलत थियो। त्यो सन्यासको निर्णय सच्याएर अन्तर्राष्ट्रिय खेल जीवनमा नफर्किएका भए मेस्सीले विश्वकप जित्ने थिएनन् । उनी बन्ने थिएनन् एक महान् खेलाडी।

उनका शुभचिन्तकहरू प्रायः सबैले सन्न्यास नलिन आग्रह गरिरहे। अर्जेन्टिनाका राष्ट्रपतिले समेत सन्न्यास फिर्ता लिन आग्रह गरेपछि मेस्सी पुनः खेलमा फर्किए।

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको दुई महिनापछि मेसीले संन्यास फिर्ता लिने घोषणा गरे। ‘राष्ट्रिय टिम छोड्नेबारेमा निकै गम्भिर थिए। तर, अर्जेन्टिना र यो जर्सीको मायाले मलाई पुनः राष्ट्रिय टिममा फर्किने बनायो,’ २०१६ अगस्ट १३ मा संन्यास फिर्ता लिएपछि मेसीले भनेका थिए।

तर, उनको पुनरागमन सुखद भने बन्न सकेन। अर्जेन्टिनाले २०१८ को विश्वकपमा आशाअनुरुपको प्रदर्शन गर्न सकेन। समूह चरणका तीन खेलमध्ये एकमा जित, एकमा बराबर र एकमा हारसहित समूह उपविजेताको रुपम नकआउट चरण पुगेको अर्जेन्टिनाले योभन्दा माथिको यात्रा तय गर्न सकेन।

यसपछि अर्जेन्टिनाले २०१९ मा ब्राजिलमा भएको कोपा अमेरिका खेल्यो। त्यहाँ पनि अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँगै २–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

राष्ट्रिय टिममा फर्किए पनि मेस्सीले अर्जेन्टिनालाई उपाधि दिलाउन सकेनन्। यसैकारण मेस्सी राष्ट्रिय टिममा फर्किनु नै गलत भएको टिप्पणी सुरु हुन थाल्यो। मेस्सी टिममा रहेसम्म अर्जेन्टिनाले उपाधि नजित्ने भन्दै आलोचना सुरु भयो। त्यतिबेलासम्म पनि अर्जेन्टिनामा उनको जर्सी र पुत्ला जलाउने काम त रोकिएको थिएन।

सन् २०१५ को बालोन डी’अर अवार्डमा शीर्ष तीन खेलाडीको नाम सार्वजनिक गरिँदा मेसीलाई एक पत्रकारले सोधेका थिए,‘तपाई पाँच बालन डी’अर रोज्नुहुन्छ वा एक विश्वकप ?’

त्यतिबेला मेसीले जवाफ दिएका थिए, ‘पाँच बालन डी’अरभन्दा एक विश्वकपको उपाधि जित्न मन पराउँछु।’ मेसीको यो जवाफबाटै बुझिन्थ्यो की उनलाई अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय उपाधि कत्ति महत्त्वपूर्ण थियो।

मेस्सीले अब जित्न कुनै उपाधि बाँकी रहेन

अर्जेन्टिनाको रोसारियो शहरमा १९८७ मा जन्मिएका सुपर स्टार खेलाडी मेस्सीले अब जित्न नसकेको उपाधि कुनै रहेन । सबै उपाधि जितिसकेका मेस्सीले विश्वकप मात्रै जित्न बाँकी थियो। त्यो पनि पूरा भएसँगै फुटबलमा उनले पाउनुपर्ने सबै पाइसकेका छन्।

सन् २०१९ मा सम्पन्न कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग हारेपछि भने अर्जेन्टिनाले पछाडि फर्केर हेर्नु परेको छैन। त्यसको दुई वर्षपछि ब्राजिलमै भएको कोपा अमेरिकाको ४७औं संस्करणमा अर्जेन्टिनाले अपराजित रहँदै उपाधि उचाल्यो। अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भयो। मेस्सीले पहिलो पटक अर्जेन्टिनाका लागि उपाधि जिते।

यो उपाधिसँगै मेसीलाई राष्ट्रिय टिमको समस्या मान्नेहरूले अब उनलाई ‘मसिहा’ बनाइसकेका थिए। मेसी प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी घोषित भए।

यसपछि अर्जेन्टिनाले युरो २०२० च्याम्पियन इटालीलाई ३–० ले हराउँदै ‘फाइनालिसिमा’ (दक्षिण अमेरिका र युरोपियन च्याम्पियनबीचको खेल) को उपाधि पनि जित्यो। यो उपाधिलाई अन्तर्राष्ट्रिय ट्रफीमा गन्ने वा नगन्ने भन्नेबारे बहस गर्नेहरूको जमात पनि ठूलो छ। जे होस् अर्जेन्टिनाले लगातार दुई उपाधि जित्यो।

र, अहिले मेसीकै कप्तानीमा अर्जेन्टिनाले कतारमा सम्पन्न फिफा विश्वकपको २२औं संस्करण जितेको छ। अर्जेन्टिनाले विश्वकपको उपाधि जित्दा मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए।

मेस्सीलाई त्यसै महान् खेलाडीको ट्याग भिराइएको भने होइन। त्यो उपलब्धि उनको प्रदर्शनबाटै आर्जित सम्पत्ति हो। विश्वकपमा उनले सर्वाधिक २६ खेल खेल्दै विश्व कीर्तिमान बनाए। यसअघि जर्मनीका लोथर माथेउसले विश्वकपमा २५ खेल खेल्दै कीर्तिमान बनाएका थिए।

फाइनलमा फ्रान्सविरुद्ध खेलेसँगै मेस्सी विश्वकप फुटबलको इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका हुन्। मेस्सीले यो उपलब्धि मात्रै पाएनन् कतार विश्वकपमा, उनी विश्वकप फुटबल इतिहासमा दोस्रो पटक सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्ने पहिलो खेलाडी पनि बने। यो पनि विश्वकपमा कीर्तिमान नै हो।

उनले यसअघि सन् २०१४ को विश्वकप फुटबलमा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेका थिए। तर, त्यो विश्वकपमा अर्जेन्टिनालाई उपाधि जिताउन भने सकेनन् । मेस्सी विश्वकपका सबै चरणमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्।

जे होस्, विश्वकपको उपाधिसँगै सर्वकालिन महान खेलाडी बन्नका लागि मेस्सीले अब गर्नुपर्ने सबै सफलता हाँसिल गरिसकेका छन्। मेस्सीले १७२ खेलबाट ९८ गोल गरेका छन्।

उनले क्लब लेभलमा जादुमय प्रदर्शन गर्दै धेरै उपाधि दिलाएका छन्। उनले ला लिगाको उपाधि मात्रै बार्सिलोनालाई १० पटक जिताएका छन्। च्याम्पियन्स लिगको उपाधि चार पटक, फिफा क्लब विश्वकपको उपाधि तीन पटक बार्सिलोनालाई दिलाएका मेस्सीले यूईएफए सुपर कपको उपाधि तीन पटक जिताएका छन्।

२००३ देखि ‘सी’ टिम हुँदै बार्सिलोनाबाट खेलेका मेस्सीले २०२१ मा भने ला लिगा छोडेर फ्रेन्च लिग खेल्न पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबमा अनुबन्धित भएका छन्। उनले पीएसजीलाई पनि लिग वानको च्याम्पियन बनाइसकेका छन्।

मेस्सीले सात पटक त फिफाले दिने बालोन डी’अर अवार्ड जितेका छन्। उनी नै सर्वाधिक यो अवार्ड जित्ने खेलाडी पनि हुन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पाँच पटक यो अवार्ड पाएका छन्।

दुई पटक विश्वकप फुटबलको सर्वोत्कृष्ट खेलाडी, दुई पटक फिफा क्लब विश्वकपको सर्वोत्कृष्ट खेलाडी, फिफा वर्ल्ड प्लेयर अफ द इयर, द बेस्ट फिफा मेन्स प्लेयरलगायतका अवार्ड मेस्सीले जितेका छन्। त्यस्तै, छ पटक ला लिगा बेस्ट प्लेयरको अवार्ड जित्दा अर्जेन्टिनी फुटबलर अफ द इयरको अवार्ड मात्रै १४ पटक जितेका छन्।

फुटबलको दुनियाँमा राज गरेका मेस्सीले जित्नुपर्ने सबै जितिसके। पाउनुपर्ने पनि सबै पाइसके। त्यस कारण उनी फुटबल इतिहासमा महान् खेलाडी बनेका छन्।

मेस्सीले अझै लिन सक्छन् उचाइ, चुम्न सक्छन् अरू उपाधि

कतारमा आयोजित फिफा विश्वकप २०२२ ले मेस्सीलाई जीवनकै सबैभन्दा ठूलो उपाधि दिलायो। ३५ वर्षीय मेस्सीले फुटबलमा अझै उपाधि हात पार्न सक्छन् भन्दा अनौठो नहोला। उनले कतार विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गर्ने बताइएको थियो। उनले विश्वकपको फाइनल आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल रहेको बताएका थिए।

तर, मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि हात पा¥यो। विश्वकप उपाधिपछि मेस्सीले आफूले तत्काल संन्यास नलिने स्पष्ट पारे। ‘म राष्ट्रिय टिमबाट संन्यास लिन गइरहेको छैन। म विश्वकप विजेता अर्जेन्टिनाको जर्सीमा अझै खेल्न चाहन्छु,’ उनले भनेका छन्। त्यसकारण, खेल जीवनको उत्तरार्द्धमा उनले अझै थप उपाधि जित्न सक्छन्।

– कोपा अमेरिका
सन् २०२४ मा हुने कोपा अमेरिकाको उपाधि फेरि जित्दै मेस्सीले विश्व फुटबलमा आफ्नो उपस्थिति कायमै रहेको सन्देश दिन सक्छन्। यो उनका लागि राम्रो र सहज मौका पनि हो। यो उपाधि जिते अर्जेन्टिनाले उपाधि संख्या १५ बनाउँदै उरुग्वेलाई पछि पार्नेछ।

व्यक्तिगत हिसाबमा पनि मेस्सीलाई उक्त कोपा अमेरिकामा नयाँ कीर्तिमान राख्ने अवसर हुनेछ। उनले अहिलेसम्म कोपा अमेरिकामा १३ गोल गरेका छन्। उनी कोपा अमेरिकामा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानबाट ४ गोलले पछाडि छन्।

– अर्को विश्वकपको सम्भावना
मेस्सीले अर्को विश्वकप पनि खेल्नु असम्भव भने पक्कै पनि छैन। किनकि, अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले यसअघि नै मेस्सीले सन् २०२६ को विश्वकप खेल्ने सम्भावनालाई नकार्न नसकिने बताइसकेका छन्।

उक्त विश्वकपमा उनी ३९ वर्षका हुनेछन्। यो अवस्थामा उनलाई उपाधि रक्षा गर्नु ठूलो चुनौती हुनेछ। उनले यो विश्वकप खेल्न सके केही महत्त्वपूर्ण कीर्तिमान राख्न सक्छन्।

– च्याम्पियन्स लिग
क्लबस्तरमा मेस्सीको उद्देश्य पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि जिताउनु पनि हो। यो उद्देश्यको लागि अहिले उनी निकै नजिक पनि छन्।

यो सिजनको फाइनल जिताउन सकेमा पीएसजीको इतिहासमा पहिलो च्याम्पियन्स लिगको उपाधि हुनेछ। सन् १९९३ मा मार्सिल्लेले च्याम्पियन्स लिगको उपाधि जितेयता कुनै पनि फ्रान्सेली टोलीले यो उपाधि चुम्न सकेको छैन।

– धेरै उपाधि जित्ने खेलाडी
मेस्सीको लागि सबैभन्दा महत्त्वपूर्ण लक्ष्य भनेको सबैभन्दा धेरै उपाधि हात पार्ने खेलाडीमा आफ्नो नाम लेखाउनु हो। यो कीर्तिमान उनका पूर्व सहकर्मी ड्यानी अल्भासको नाममा छ।

उनले ४६ उपाधि जितेका छन्। विश्वकपको उपाधि जितेसँगै मेस्सीको पनि उपाधि संख्या ४२ पुगेको छ। अब उनले कति लामो समय आफूमा विश्वास राख्न सक्छन् र कसरी अघि बढाउन सक्छन् भन्ने कुरामा उपाधि जित निर्भर हुनेछ।

तपाईको प्रतिक्रिया