तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङमा जारी माघेनी मेलाको पाँचौँ दिन शनिबार पुरुष र महिला फुटबल प्रतियोगितातर्फ सेमी फाइनल चरणका खेल हुँदैछन् । पुरुष तर्फ सेमीफाइनलको पहिलो खेलमा शनिबार जिरीखिम्ती युवा क्लब तेह्रथुम रातो र सल्लेरी युवा क्लब ओयाक्जुङ बीच खेल हुदैछ ।

दोश्रो सेमीफाइनलमा सन्सारी युवा क्लब आम्बुङ र आयोजक गौखरी युवा क्लब बी बीच प्रतिष्पर्धा हुने आयोजक गौखुरी युवा क्लबले जनाएको छ । हिजो भएको क्वाटर फाइनल चरणको पहिलो खेलमा जिरीखिम्ती रातोले भिगरस एकेडेमी इनरुवालाई १–० ले पराजित गरेको थियो । यस्तै सल्लेरी ओयाक्जुङले आयोजक गौखुरी युवा क्लब ए लाई तथा सन्सारी युवा क्लब आम्बुङले बेलबारी मोरङलाई बराबर २–० गोलले पराजित गरेका थिए ।

अन्तिम क्वाटर फाइनलमा एम.वाई.सी.माझगाउँलाई ३–१ गोलले पराजित गर्दै आयोजक गौखुरी युवा क्लब बी सेमीफाइनल प्रवेश गरेको थियो । महिलातर्फ पनि शनिबार सेमीफाइनल चरणका खेल हुँदैछन् । सेमीफाइनलमा जुनेली युवा क्लब श्रीजुङ र सन्सारी युवा क्लब पौठाक तथा योङ स्पोटिङ क्लब मादी र गौखुरी युवा क्लब बी मोराहाङ बीच शनिबार दिउँसो खेल हुने आयोजकले जनाएको छ ।

माघे सक्रान्ति पर्वको अवसरमा गौखुरी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ विजेताले नगद रु. ८० हजार, ३ वर्षे रनिङ्ग ट्रफी मेडल प्रमाणपत्र तथा उपविजेताले नगद ४० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिला तर्फ विजेताले नगद २० हजार, ३ वर्षे रनिङ ट्रफी तथा उपविजेताले नगद १० हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितासँगै माघेनी मेला पनि आइतबार सकिने आयोजक गौखुरी युवा क्लबका अध्यक्ष खगेन्द्रमणि सम्बाहाम्फेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया