काठमाडौं । विजय मगर निर्देशित रहस्यमयी म्युजिक भिडियो ‘प्रिय म लुटिएँ’ सार्वजनिक भएको छ ।
पछिल्ला समयका निकै व्यस्त दुई अभिनेता विजय पुन र अर्जुन खड्कासँगै अभिनेतृ दिदीबहिनी समारिका ढकाल र स्मारिका ढकाल अभिनित म्युजिक भिडियोमा रहेको गीतमा भोइस अफ नेपालका कोच तथा लोकप्रिय गायक प्रमोद खरेलले मर्मस्पर्शी स्वर दिएका छन् ।
माया र धोकामा आधारित कथावस्तुमा तयार म्युजिक भिडियोले भने जो कोहीलाई ‘सरप्राइज’ दिन सक्छ । किनभने दुई दिदीबहिनीमध्ये बहिनीको एक जना केटासँग प्रेम पर्ने तर ती केटासँग दिदी चाहिँले पैसा मागेर हैरानी लगाउने गर्दा आजित भएर केटाले अपहरण गराउने कथा म्युजिक भिडियोमा देखिन्छ ।
केटाले अन्ततः अपहरित केटीको गोली प्रहार गरेर हत्या गरेको दृश्य छ । तर, जतिबेला उनले गोली प्रहार गरेर हत्या गरिसक्छन्, त्यसबेला उनलाई थाहा हुन्छ कि खासमा ती पैसा माग्ने केटी होइन भन्ने । त्यसपछि पश्चताप गर्दै केटाले पनि आत्महत्या गरेको कारुणिक वियोगान्त छ । अकस्मात् देखिएका अर्का पात्रको पनि हत्या भएको देखाएको छ।
निर्देशक मगर भन्छन्, ‘यो म्युजिक भिडियो एकदमै सरप्राइजिङ खालको छ । बहिनीसँग लभ परेको तर दिदीले पैसा माग्छे, किन ? अनि, मायामा पर्दा पछाडिको खेलाडी को ? कथावस्तुको मुख्य भाग चाहिँ अर्को म्युजिक भिडियोमा आउँछ ।’ एक प्रेमिका पाउने बहानामा जीवन बर्बाद भएको कथालाई जीवन्त ढङ्गले म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ ।
दामी क्रिएसनले फोर बि. पिक्चरको सहकार्यमा निर्माण गरिएको म्युजिक भिडियोमा सनम तामाङको संगीत, सायर पालमाको शब्द, विशाल निरौलाको एरेन्ज, सुवास लकान्द्रीको आर्ट डिरेक्सन रहेको उक्त गीत अलङ्कार स्टुडियोमा रेकर्ड गरिएको हो ।