मोरङ । विराटनगरमा जारी १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको महिला एकलमा मेघा श्रेष्ठ र चन्द्रमाया राई फाइनलमा प्रवेश गरेका छन् ।
राखेप च्याम्पियनसिप अन्तरगत शुक्रबार विराटनगरको जुट मिलस्थित कोर्टमा सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मध्यमाञ्चलकी मेघाले पश्चिमाञ्चलकी प्रिती बराललाई ४–० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरिन् ।
त्यस्तै मध्यमाञ्चलकी चन्द्रमाया राईले मध्यमाञ्चलकै एलीजा रन्जितलाई ४–० कोे सेटले पराजित गरी फाइनलमा प्रवेश गरिन् । बैजनाथपुर रंगशालाको कोर्टमा पुरुष एकलको पश्चिमाञ्चलका नविन मगर, मध्यपश्चिमाञ्चलका राजकुमार थापा र सुदूरपश्चिमाञ्चलका रोमियो शाही क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पश्चिमाञ्चलका मगरले एपिएफका सुमन लामालाई ४–१ को सेटले पराजित गरे । मध्यपश्चिमाञ्चलका थापाले मध्यपश्चिमाञ्चलका गोविन्द नेपाललाई ट्राइब्रेकरमा ७–५ को सेटले पराजित गरेका छन् ।
त्यस्तै सुदूरपश्चिमाञ्चलका शाहीले एपिएफका आयूश्मान घलेलाई ४–२ को सेटले पराजित गर्नुभयो । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपुर रंगशालाको कोर्ट र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता भइरहेको छ ।